असोज ११, २०७९ मंगलबार

विराटनगरको कोसी अस्पतालमा प्रसूतिका लागि भर्ना गरिएकी गर्भवतीको समयमै शल्यक्रिया नहुँदा पेटभित्र नै शिशुको मृत्यु भएको छ। आमाको अवस्था पनि गम्भीर छ। मोरङको कटहरी गाउँपालिका–४ की २४ वर्षीया सिर्जना परियारको पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ। 

प्रसूति व्यथाले च्यापेपछि सिर्जनालाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो। बिहान ४ बजे भर्ना गरिएकी उनको शल्यक्रिया भने राति १० बजेतिर मात्रै गरियो।  अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले शल्यक्रिया गरेकी हुन्। शल्यक्रिया गर्दा पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको पाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए।

पाठेघर फुटेर अत्यधिक रक्तश्राव भएकाले पेटभित्रै शिशुको मृत्यु भएको पाइएको अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. अन्जु देवले बताइन्। उनका अनुसार आमालाई बचाउन पाठेघर नै फाल्नुपर्ने अवस्था आयो। पाठेघर फालेपछि स्वास्थ्य अवस्था थप जटिल बनेकी सिर्जनालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। 

शल्यक्रियाको पालो आउँदा निक्कै ढिलो भइसकेको र दुःखद् घटना बेहोर्नु परेको डा. देवको भनाइ छ। सिर्जनाको पहिलो सन्तान ६ वर्षका छोरा छन्। 

सिर्जनाका जेठाजु सागर परियारले भने चिकित्सकको लापबाही र अस्पतालको बेवास्ताले घटना भएको गुनासो पोखे।