काठमाडौँ, भदौ २८ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेपछि त्यसप्रति आपत्ति जनाउँदै अस्पतालले राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको छ ।
अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको हो ।
महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्दै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए ।
दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने सुनाए ।
वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आभएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताए ।
महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको उनको भनाइ छ। अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् ।
अव्यवस्थित अस्पताल
अस्पतालमा उपचारका लागि आउने बिरामीले भने वीर अस्पताल अव्यवस्थित भएको गुनासो गरेका छन् । टिकट लिने स्थल, प्रयोगशाला र बहिरङ्ग विभागसमेत अस्तव्यस्त रहेको उपचारका लागि आएका नुवाकोटका आइते तामाङले गुनासो गरे । अस्पताल पहिलेभन्दा अव्यवस्थित भएको उनको भनाइ छ ।
नयाँ बनेको भवन विसं २०७८ असारमा उद्घाटन गरेको शिलालेख रहेकामा भित्रका संरचना बिग्रिएको भेटिएको छ । नयाँ बनेको अस्पताल भवनको शौचालयमा पानीको धारा भाँचिएको, पानी पास नहुनेलगायत समस्या देखिएको बिरामीका आफन्तको गुनासो छ ।
सूचना अधिकारी मिश्र भने बिरामी र सँगै आउने गरी दैनिक करिब छ हजार मानिसको आवतजावत हुने गरेकाले अव्यवस्थित भएको हुनसक्ने बताउन्छन् ।