भदौ २८, २०७९ मंगलबार

सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउन समझदारी पत्रमा सम्झौता गरिसकेको छ । नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ । तर, बेलायतमा यो भन्दा अगाडि नै ५ हजार भन्दा बढी नर्सहरू कार्यरत रहेका छन् ।

गत वर्ष ४०० भन्दा बढी नर्सहरू बेलायत पुगेका छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् ।

नेपाली नर्सहरू कसरी जान्छन् ?  

बेलायतले डिप्लोमा, स्नातक र स्नातकोत्तर गरेका सबै खासका नर्सहरूलाई रोजगारीका लागि लगिरहेको छ । सामान्यता २ वर्षका लागि भिसा दिने गरेको छ । तर, बेलायत पुगेकाहरू नेपाल फर्किने सम्भावना एकदमै कम छ । 

बेलायतमा रोजगारीका लागि जान सबैभन्दा पहिला नेपालको नर्सिङ काउन्सिलबाट उपलब्ध गराउने लाइसेन्स लिएको हुनुपर्छ । त्यसपछि व्यवसायिक अंग्रेजी परीक्षा (अक्कुपेसनल इङ्लिस टेष्ट– ओईटी) पास गर्नुपर्छ । त्यो पास भएपछि एजेन्सीले बेलायतमा रोजगारीका अवसरहरू खोजिदिन्छन् । ओईटीको लिस्निङमा ‘बी’, राईटिङमा ‘सी+’, रिडिङमा ‘बी’, स्पिकिङमा ‘बी’, ल्याउनुपर्छ । 

यो परीक्षा भौतिक उपस्थितिमै नेपालमा हुन्छ । त्यसका लागि सेन्टरमा जानुपर्छ । नेपालमा काठमाडौंको डिल्लीबजार र चितवन गरी दुई ठाउँमा सेन्टर छन् । त्यही गएर भौतिक उपस्थितिमा ओईटी परीक्षा दिनुपर्छ । यो पास गरिसकेपछि यूकेको नर्सिङ एण्ड मिडवाईफरी काउन्सिलको परीक्षा पास गर्नुपर्ने हुन्छ । यसलाई सामान्य भाषामा कम्प्युटर बेस्ड टेष्ट (सीबीटी) भनिन्छ । त्यो पास भइसकेपछि इलिजिबल हुन्छन् । 

उता गएर उनीहरूले मासिक २ देखि ४ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।