सिन्धुलीमा निर्माण गरिएको जुनार शितभण्डारण भवन प्रयोगविहीन भएको छ ।
जुनार उत्पादनको समयमा शितभण्डार संचालन गराउन नसकिएपछि उत्पादित जुनारहरुलाई लामो समयसम्म स्टोर गरेर अफ सीजनमा किसानहरुले बिक्री वितरण गर्न गर्न पाएका छैनन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको ढुङ्ग्रेबासमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको शितभण्डारण भवन संचालन नभएपछि कृषिजन्य उत्पादनहरु भण्डारण गरी स्थानीय किसानहरुले मुनाफा कमाउन पाएका छैनन् ।
गुणस्तरीय जुनार उत्पादनका लागि प्रख्यात मानिएको सिन्धुलीको जुनारलाई खेर जान नदिन सोही शित भण्डारण भवनको निर्माण गरिएको थियो । जापानिज सहयोगी संस्था जाईकाको कुल ६० लाख रुपैयाँको आर्थिक सहयोग र तात्कालीन सिन्धुली जिल्ला विकास समिति, स्थानीय कमलामाई नगरपालिका र सिन्धुली जिल्लाका कुल ५३ वटा गाउँ विकास समिति तथा विभिन्न संघ(सस्थाहरुको कुल रकम ४० लाख गरी १ करोडको लागतमा सिन्धुली जुनार विकास संघको अगुवाईमा सोही शित भण्डारण भवनको निर्माण गरिएको थियो ।