भदौ २१, २०७९ मंगलबार

काठमाडौं: नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले कोभिड-१९ प्रतिकार्यको समिक्षा एवम भावी योजना सम्बन्धी एक दिने छलफल आयोजना गरेको छ । 

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा रेडक्रस काठमाडौँ शाखाले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाम गर्न खेलेको भूमिकाको विषयमा छलफल गरेको हो। 

कोभिड महामारीमा रेडक्रसले नागरिकलाई सुरक्षित राख्‍न स्वास्थ्य सामग्रीदेखि सचेतनामूलक कार्यक्रम गरेको रेडक्रस काठमाडौँ शाखाका सभापति श्याम डोटेलले  बताए। 

उनले भने, 'कोभिडको पहिलो र दोस्रो लहरमा लकडाउन हुँदा रेडक्रस सधैँ अगाडि आएर काम गरिरहेको थियो। महामारीमा मानिस बाहिर निस्कन नपाउँदा रेडक्रसले मानवीय उद्धार, उपचार देखि स्वास्थ्य सामग्रीसमेत वितरण गरेको थियो।’ 

विपतको समयमा मानवीय सेवा तथा उद्धार गर्न काठमाडौँ शाखा सधैँ तयार रहेको बताए। शाखाले एम्बुलेन्स सेवा निरन्तर सेवा सञ्चालन गरिरहेको उनको भनाइ छ। 

पछिल्लो समय काठमाडौँ शाखाले निरन्तर रुपमा कोभिड(१९ विरुद्धको खोपलाई निरन्तरता दिइरहेको छ। सभापति डोटेलका अनुसार मुख्य(मुख्य भीडभाड हुने स्थानमा र मोबाइल खोप अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले कोभिड महामारीमा नागरिकलाई सुरक्षित राख्‍न रेडक्रसलाई खोप लगाउने जिम्मा दिनलाई उनले माग गरे।  

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले खोपको मात्रा कम भएकाले दोस्रो बुस्टर डोज पहिले ‘फ्रन्टलाइन’बाट लगाउन थालिएको स्मरण गरे। खोप लगाउने व्यक्तिमा सङ्क्रमणको जोखिम ८५ प्रतिशत कम हुने दाबी समेत गरे। 

कार्यक्रममा महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख, दक्षिणकाली नगरपालिकाका उपप्रमुख, नेपाल रेडक्रसका पदाधिकारी तथा शाखाका पदाधिकारी सहभागी थिए।