भदौ २०, २०७९ सोमबार

संखुवासभा: संखुवासभाको सदरमुकाम खाँदबारीमा ब्लड बैंक ९रक्त संचार केन्द्र० सुरु भएको छ। जिल्लामै ब्लड बैंक सुरु भएपछि लाखौँ खर्च गरेर बिरामी अन्यत्रै जानु पर्ने बाध्यता हटेको छ।

सिर्जनशील सामुदायिक विकास केन्द्र र नेपाल रेडक्रस सोसाइटीको पहलमा दाताहरुबाट संकलन भएको रकमबाट ब्लड बैंक आइतबारबाट सुरु भएको हो।

ब्लड बैंक स्थापना भएपछि बिरामीको ज्यान जोगिने मात्र होइन लाखौं खर्च गरेर अन्यत्र जानु पर्ने बाध्यता समेत हट्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए।

प्रमुख  शाक्यले भने रेडक्रस सोसाइटी र सिर्जनशील सामुदायिक सेवा केन्द्रको संयुक्त पहलमा जिल्लामा ब्लड बैंक सुचारु गर्न पाएकोमा खुशी ब्यक्त गरे। ब्लड बैंक स्थापनाका लागि सिर्जनशील सामुदायिक विकास केन्द्रले विभिन्न दाताहरुबाट रकम सङ्कलन गरेको थियो।

ब्लड बैंक स्थापनाका लागि विभिन्न दाताहरुबाट २५ लाख ६० हजार ९५९ रुपैयाँ, अरुण तेस्रो जलविद्युत परियोजनाले २८ लाख ६१ हजार ३८ रुपैयाँ बराबरको दुई थान मेशिन र राष्ट्रिय वाणिज्य बैंकले १४ लाख ७० हजार २ रुपैयाँ सहयोग गरेको थियो।

यसअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका तथा अप्रेसन गरिएका गर्भवती र रक्तअल्पता लगायतका बिरामीले लाखौँ खर्च गरेर अन्यत्र लैजानु पर्ने बाध्यता थियो।

जिल्लामा रक्त सञ्चार केन्द्र ९ब्लड बैंक० नहुँदा खाँदबारी अस्पताल आउने बिरामीले लाखौं रकम खर्च गरेर धरान, विराटनगर, इटहरी जस्ता ठूला शहर जानु पर्ने बाध्यता थियो।

२०५३ सालमा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भएपनि यसले ब्लड ग्रुप छुट्याउने र दाता खोज्ने काम गरिरहेको थियो। जोखिममा परेका बिरामीको ज्यान बचाउन सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्त सञ्चार केन्द्र स्थापना गर्न रकम संकलन गरेको सिर्जनशील सामुदायिक विकास केन्द्रकी सचिव बबिता कटुवालले बताइन्।

महिला समूहले चिया बिक्री अभियानबाट रकम सङ्कलन सुरु गरेको उनको भनाइ छ। चिया बिक्रीबाट सुरु गरिएको अभियानले रक्त सञ्चार केन्द्र स्थापना गर्न सफल भएको सचिव कटुवालले बताइन्।