तनहुँकाे व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान समस्यामा परेका छन् ।
करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा बेहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उनले भने । राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरूको भनाइ छ ।