भदौ ८, २०७९ बुधबार

काठमाण्डौ – कीर्तिपुरका बासिन्दाले कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । कीर्तिपुर नगरपालिका र अस्पतालबीच स्थानीयबासिन्दालाई उपचारमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ । यस्तै क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ । यो सेवा गएको सोमबारदेखि नै सुरू भएको छ ।

सम्झौतामा बिरामीको उपचारका लागि प्रतिव्यक्ति बढीमा ६० हजार रूपैयाँ बहन गर्ने र त्योभन्दा बढी खर्च भएमा अस्पतालको दोस्रो पक्ष, जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालले क्याबिनमा बाहेक २५ प्रतिशत छुट दिने उल्लेख छ । छुटको लागि नगरबासीले नगरपालिकाले दिएको उपचार सहुलियत कार्ड पेस गर्नुपर्ने हुन्छ । यो कार्डबाट काठमाण्डौ मोडल अस्पतालबाट पनि २५ प्रतिशत छुट लिन सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले अस्पताल व्यवस्थापनका लागि यो आर्थिक वर्ष ८० लाख रूपैयाँ बजेट दिने भएको छ ।