भदौ ७, २०७९ मंगलबार

प्रश्न: बालबालिकामा घुर्ने तथा श्वासप्रश्वास समस्या किन हुन्छ? उपचार के हो?

डा योगेश न्यौपानेको उत्तर:

बालबालिकाहरु राति सुतेको समयमा घुर्ने समस्या देखिनसक्छ। घुर्नु भनेको सास फेर्ने बाटो साँघुरिनु हो। साँघुरो बाटोबाट जब हावा भित्र जान्छ, त्यसले एक किसिमको भाइब्रेसन ल्याउँछ। त्यसलाई नै घुर्नु भनिन्छ। राति शरीरमा अक्सिजनको मात्रा कम भएकाले घुर्ने समस्या हुन्छ। 

कहिलेकाहीँ रुघा लागेको बेला केही दिन बालबालिकाहरु राति घुर्ने र छट्पटिने गर्छन्। जुन रुघा निको भएपछि आफैँ हराउँछ। यो सामान्य हो। तर वर्षौदेखि बालबालिकाहरु राति घुर्ने गर्छन् भने सामान्य होइन। राति सुतेको बेला घुर्ने, छटपटाउने, बिहान उठ्ने बेला अप्ठ्यारो मान्ने, झिँझो मान्ने, झगडा गर्ने, पढाईमा मन नलगाउने, बढी हाईहाई गर्ने यसका लक्षणहरु हुन्।

नाक र घाँटी पछाडिको टन्सिल ठूलो भएका कारण यो समस्या देखिन्छ। नाकको पछाडिको भागमा टन्सिल हुन्छ। दुईरसाढे दुई वर्षदेखि ६र७ वर्षसम्म टन्सिल बढ्छ। त्यसपछि यो १२ वर्षसम्म सानो हुँदै हराउँछ। तर कुनै बालबालिकामा यो टन्सिल ठूलो हुँदा नाक र मुख दुवैबाट सास फेर्न गाह्रो हुन्छ। नाक र घाँटी दुवैको टन्सिल ठूलो भएर सास फेर्न समस्या भएको छ भने उपचार गर्नुपर्छ। 

सुरुमा चिकित्सकले खाने र नाकमा हाल्ने औषधि दिन्छन्। औषधिले पनि ठीक नभए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। त्रिवि शिक्षण अस्पतालमा महिनामा १२ देखि १५ वटासम्म शल्यक्रिया गर्ने गरिन्छ। घाँटीको शल्यक्रिया गरेपछि आवाज बिग्रने तथा  आवाज नआउने भन्ने कुरा भ्रम मात्र हो।

(डा योगेश न्यौपाने त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन)