काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन्।
मंगलवार प्रशुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे।
मन्त्री खापुङले भने,‘स्तनपान गराउने संख्या कर्णाली प्रदेशमा धेरै देखियो। बट्टाको खानेकुरा खुवाउने, स्तनपान कम गराउने संख्या वागमती प्रदेशमा देखियो। विकास निर्माणको अग्रसरतामा सबैभन्दा पछि देखिने कर्णाली यहाँ अघि देखियो। कर्णाली प्रदेशका जनतालाई धन्यवाद भन्नुपर्छ। बागमतीमध्ये पनि सबैभन्दा कम स्तनपान गराउने काठमाडौँमा नै होला। त्यसमा पनि बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु होलान्। यो तथ्यांकबाट यही खालको आशय बुझिन्छ। यो क्रम जहाँ कम भएको छ, त्यहाँ बुझाएर सम्भव हुन्छ जस्तो लाग्दैन, त्यसको कारण के हो? कारण पत्ता लगाएर जान आवश्यक छ।’
यसका साथै उनले स्तनपान बच्चाको नैसर्गिक अधिकार भएको र यसबाट बञ्चित नगराउन समेत आग्रह गरेका हुन्। उनले भने,’जन्मिएदेखि नै आमाको स्तनपान गर्न पाउनुपर्छ, यो उसको नैसर्गिक अधिकार हो। त्यो अधिकार हनन हुन दिनुभएन। त्यसको लागि अध्ययन हुन जरुरी छ। त्यसको निराकरणको बाटो के हो भन्नेकुरा पत्ता लगाएर अघि बढौँ। मिल्क बैंकको स्थापना सातै प्रदेशमा गर्ने उद्देश्य छ, यसलाई सबै मिलेर सफल पारौँ।’