साउन १३, २०७९ शुक्रबार

विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा २०७७ माघदेखि २०७९ चैत मसान्तसम्म लमजुङमा २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् । लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् । 

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका नागरिकको सहभागिता क्रमिक रूपमा बढ्दै गएको छ । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी अनुपमा रेग्मीका अनुसार स्वास्थ्य बीमा​मा आवद्धमध्ये जेष्ठ नागरिक ५२ सय ११ जना, महिला स्वास्थ्य स्वयंसेविका २२२ जना, क वर्ग पूर्ण अशक्त अपांगता भएका २३० जना र एचआईभी संक्रमित ५८ जना छन् । सोबाहेक कुष्ठरोग देखिएका एकजना छन् । 

 

स्वास्थ्य बीमामा आवद्ध हुन पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३५ सय र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँचजनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क नि:शुल्क हुने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारले सूचीकृत अस्पताल, स्वास्थ्य संस्थाबाट एक हजार ११८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।