साउन ५, २०७९ बिहिबार

काठमाडौं– वीर अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालन हुने भएको छ। वीर अस्पतालमा यसअघि क्याथ ल्याबको सुविधा थिएन। अस्पतालले मुटुका बिरामीका लागि लक्षित गर्दै पहिलो पटक क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउन लागेको हो।

मुटुका बिरामीका लागि अति आवश्यक पर्ने भएकाले अस्पतालले क्याथ ल्याब सञ्चालन गर्न लागेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले बताए। 

क्याथ ल्याब सञ्चालनका लागि सरकारले दिएको बजेटबाट नै खरिद प्रक्रिया अगाडि बढेको डा बस्नेतल जानकारी दिए। उनका अनुसार क्याथ ल्याबका लागि ९ करोड ५० लाख बजेट छुट्याइएको छ। सोही अनुसार क्याथ ल्याब खरिदको जिम्मा इष्ट वेस्ट कन्सर्न जिम्मा पाएको छ। 

नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएकाले अस्पतातमा पनि मुटु सम्बन्धी रोगका बिरामीहरु बढेको डा बस्नेतको भनाइ छ।

‘अस्पतालमा मुटुको उपचारका लागि आएका बिरामीलाई क्याथ ल्याब छैन भन्दै अन्य अस्पतालमा पठाउनु पर्ने अवस्था भएकाले अस्पतालमै सेवा विस्तार गर्न लागेका हौँ,’ उनले भने, ‘मुटुका बिरामीलाई सहज रुपमा सेवा दिन क्याथ ल्याब सेवा सुरु गर्न लागिएको हो।’

वीर अस्पतालमा डिएम गरेका कार्डियोलोजिष्ट डा प्रभा चापागाईं कोइराला, डा समिर पौडेल, डा कुन्जान शेर्पा र डा विनायक गौतम ४ जना विशेषज्ञ चिकित्सक रहेकाले क्याथ ल्याब सञ्चालनका लागि चिकित्सक पर्याप्त रहेको डा बस्नेतको भनाइ छ।

वीर अस्पतालको मुटुरोग विभागकी प्रमुख डा प्रभा चापागाईं कोइरालाका अनुसार वीर अस्पतालको ओपिडीमा मात्र दैनिक ८० जनासम्म बिरामी आउने गर्छन्। ती मध्ये  करिब  १० जनालाई  क्याथ ल्याब सेवा दिनुपर्ने अवस्थाका हुन्छन्।

यस्तै वीर अस्पतालमा आउने आकस्मिक मुटुका बिरामीहरुलाई पनि सेवा दिन क्याथ ल्याब आवश्यक पर्ने उनको भनाइ छ।

क्याथ ल्याब नहुँदा भने बिरामी त्रिवि शिक्षण अस्पताल तथा गंगालाल अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

डा प्रभाका अनुसार वीर अस्पतालमै क्याथ ल्याब सेवा भएमा हृदयघात, मुटुको रगतका नशा सम्बन्धी समस्या, मुटुको भल्भ सम्बन्धी समस्या, जन्मजात मुटु रोग लगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ।

अस्पतालका मुटु रोग विशेषज्ञ डा कुञ्जान शेर्पाले वीर अस्पतालमा क्याथ ल्याब सेवा सुरु भएपछि मुटुको धड्कन कम हुने, मुटुको चालमा गडबडी हुने समस्या भएका बिरामीका लागि ब्याट्री, पेसमेकर लगायतका विभिन्न डिभाइसहरु राख्ने लगायतका सेवा पनि प्रदान गर्न सकिने बताए।

वीर अस्पताल बहुविशेषज्ञ अस्पताल भएपनि मिर्गौला, क्यान्सर लगायत अन्य रोगका  बिरामीमा मुटुको बाहिरी भागमा पानी जम्ने तथा अन्य मुटुसँग सम्बन्धित समस्या हुँदा रेफर गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले क्याथ ल्याब सञ्चालनमा आएपछि उक्त सेवा वीरबाटै दिन सकिने जानकारी दिए।

वीर अस्पतालमा हाल मुटुको ओपिडी, आइसीयू, इको, टिएमटी सेवा सञ्चालनमा छ।