एलर्जी छालामा देखिने एक असामान्य प्रतिक्रिया हो। चिकित्सकका अनुसार यसलाई ठेट नेपालीमा उकवत पनि भन्ने गरिन्छ। शरीरमा कुनै वस्तुको प्रयोग गर्दा त्यसको विरोधको रूपमा शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाएमा एलर्जी देखा पर्छ।
एलर्जी पुरुषको तुलनामा महिलाको छाला धेरै देखिने चिकित्सकहरू बताउँछन्। पुरुषको तुलनामा महिलाको छाला निकै संवेदनशील हुने भएकाले महिलाहरूमा छालाको एलर्जी बढी देखिने उनीहरूको भनाइ छ।
डाक्टरका अनुसार एलर्जी यस्तो खराबी हो कसलाई कति बेला, कहाँ, के को एलर्जी देखा पर्छ थाहा नै हुँदैन। सामान्य मानिसलाई असर नगर्ने दैनिक प्रयोग भइरहेका वस्तुहरू पनि एलर्जी हुनेहरूलाई खतरनाक हुन सक्छ।
एलर्जी कसरी हुन्छ?
एलर्जी ठ्याक्कै यही कारणले हुन्छ भनेर किटानका साथ भन्न सकिँदैन। शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता असामान्य भएर एलर्जी हुने गर्छ। प्रायःजसो दैनिक रूपमा प्रयोग भइरहने सामान्य वस्तुबाट एलर्जी हुने गरेको पाइन्छ। घामको किरण, नक्कली गरगहनामा हुने निकेल जस्ता धातुको प्रयोग, कपडा, पर्फ्युमलगायत विशेष गरी विभिन्न प्रकारका कस्मेटिक्स (शृंगारका सामाग्री) को कारणले एलर्जी हुने गर्छ।
धुलोका कणहरू, कार्पेट–कटनका कपडाहरूको कारणले मात्र नभएर भित्तामा पेन्ट गरिएका कलरले पनि इरिटेसन पैदा गराई एलर्जी निम्त्याउन सकिने डाक्टरहरू बताउँछन्।
कहिलेकाहीँ बोट–विरुवामा भएका कतिपय रसायन संवेदनशील छालासँग सम्पर्क भएमा शरीरले सहन सक्दैन र एलर्जी हुन सक्छ।
सहरीकरण र औद्योगिक विकासका कारण उत्पन्न धुवाँ, धुलोका साथै कृत्रिम सामाग्रीहरूको बढ्दो प्रयोगले पनि एलर्जीका बिरामीहरू बढ्दै गएको छ ।
नेपालको परिप्रेक्ष्यमा बढी देखिने १० रोगमध्ये एलर्जी पनि एक हो। एलर्जीमा किटाणु हुँदैन तर एलर्जीमा इन्फेक्सन भएमा त्यही एलर्जी खतरनाक बन्न सक्छ।
थरिथरिका एलर्जी
सामान्यतया एलर्जी भन्नेबित्तिकै शरीरको छाला चिलाउनु डाबर आउनु, खस्रो भएर रातोरातो दागजस्तो हुनु हो।
तर यस्ता लक्षणहरूमात्र एलर्जी नभएर भित्री तथा बाहिरी गरी दुई प्रकारको एलर्जी हुन्छ । बाहिरी रूपमा विभिन्न कारणले जे–जति एलर्जी हुन्छन्, ती एलर्जीलाई कन्ट्र्याक्ट एलर्जी भनिन्छ। यसमा एलर्जिक कन्ट्रयाक्ट र इरिटेट कन्ट्र्याक्ट गरी दुई प्रकारको एलर्जी पर्दछन्।
गहनाले हुने एलर्जी
गहनालाई महिलाको सुन्दरतालाई निखारता दिने एक माध्यमको रूपमा लिइन्छ। तर यही गहनाको एलर्जीका कारण कतिपयका लागि सौन्दर्य बिर्गाने माध्यम पनि साबित भएको छ।
सबै गहनाको गुणस्तर एकनासको हुँदैन। गुणस्तर कमसल भएको तथा धेरै दिनसम्म लगाइएका गहना लगाउँदा धेरैलाई एलर्जी हुने गर्छ ।
हिजोआज कुनै सभा होस् या विवाह, ब्रतबन्धको पार्टी, धेरै महिलाहरू नक्कली गहना ढकमक्क लगाएर आउने गरेको पाइन्छ। सक्कली गहनाको साटो नक्कली गहनाको प्रयोग गर्दा हराउने डर पनि हुँदैन र ठुलो आर्थिक लगानीको पनि जरुरी हुँदैन।
त्यसैले हिजोआज महिलाहरूमा यसतर्फ रुचि बढेको पाइन्छ। तर यस्त गहनाहरूमा मानिसको छालाको लागि फाइदाजनक नहुने केमिकलहरू प्रयोग भएको हुन्छ, जसले गर्दा गहना लगाएको ठाउँमा चिलाउने, फोका आउने, इरिटेसन पैदा हुने जस्ता एलर्जी देखा पर्ने गर्छ।
उमेर हेर्दैन एलर्जीले
एलर्जी रोग विशेषज्ञहरूका अनुसार भर्खरै जन्मिएको बच्चादेखि जुनसुकै उमेरका मानिसहरूलाई पनि हुने गर्छ। विशेषगरी ४० वर्षभन्दा कम उमेरमा बढी एलर्जी देखापर्ने हुन्छ। अन्य उमेरको तुलनामा बच्चाहरूको छाला अति नै संवेदनशील हुने भएकाले जाडो महिनामा सुख्खा खालको एलर्जी देखापर्छ भने गर्मी मौसममा छालाको प्रत्यक्ष सम्पर्कमा आउने जुनसुकै वस्तुको कारणले पनि एलर्जी हुन सक्छ। प्रायः कपडाहरूले पाछ्ने, पोल्ने भई त्यहाँ इन्फेक्सन पनि हुन सक्छ।
बालबालिकाहरू खेल्ने क्रममा किराहरूले टोकेमा छालामा डाबर आउने, एक ठाउँमा टोके १० ठाउँमा समस्या देखिने गर्छ। उनीहरूको छाला निकै संवेदनशील हुने भएकाले किराले टोकेको ठाउँमा घाउ भई पाक्ने सम्भावनासमेत रहन्छ।
यस्तो एलर्जीबाट बच्न सकेसम्म बच्चालाई घाम र चिसोबाट बचाउने र रसायनहरूबाट सकेसम्म टाडै राख्ने गर्नुपछ।
हेलचेक्रयाइँ गरे झन् खतरा
सामान्यतया एलर्जी भन्नेबित्तिकै चिलाउने डाबर आउने पोल्ने लक्षणलाई बुझिन्छ। कतिपय अवस्थामा सामान्य लाग्ने यस्ता लक्षणहरू नै खतरनाक बन्न सक्छन्।
सुरुमा चिलाउने, डाबर आउने, राता–राता खटिरोजस्तो आउने समस्यालाई समयमै उपचार नगराएमा वा समयमा रोकथाम नगरेमा पछि ठुलो समस्या आउनसक्छ। त्यसमा पनि इन्फेक्सन भई डाबरहरू पाकेर पूरै शरीरलाई बिगार्ने पनि हुनसक्छ। कतिपय एलर्जीका कारण आएका पानीका फोकाहरू फुटेर पानी बगिरहने समस्या पनि हुने गर्छ।
एलर्जी आफैंमा अतिसंवेदनशील समस्या हो। एकपटक एलर्जी भएको मानिसलाई पुनः बल्झिने सम्भावना बढी नै हुन्छ। समयमै उपचार नगराउँदा कतिपय बिरामीहरू एलर्जीकै दीर्घरोगीसमेत बन्न पुग्छन्।
आफूलाई एलर्जी हुने वस्तुबाट सतर्क रहनु उपचार गराउनुभन्दा राम्रो हो। आफूलाई कुन कारणले एलर्जी भएको हो, सो कारण पत्ता लगाएर त्यस्ता वस्तुबाट समयमै टाढा रहन सके एलर्जीको जोखिमलाई कम गर्न सकिन्छ। हावाको राम्रो प्रवाह भएको ठाउँमा बस्ने आधुनिक सौन्दर्य समाग्रीहरू (कस्मेटिक्स) को कम प्रयोग गर्ने गर्नाले एलर्जीको खतराबाट धेरै हदसम्म बच्न सकिन्छ।
एलर्जी वंशाणुगत पनि हुन सक्छ
अन्य रोगहरूजस्तै एलर्जी पनि वंशाणुगत हुने गरेको चिकित्सकहरू बताउँछन्। विज्ञहरूका अनुसार आमाबुबामध्ये एक जनामा एलर्जी छ भने उनीहरूका छोरारीहरूमा २५ प्रतिशत सर्ने सम्भावना रहन्छ। यदि आमाबुबा दुवैमा एलर्जी भएमा दोब्बर हुने सम्भावना रहन्छ। वंशाणुगत हुने एलर्जीमा भने भित्री एलर्जी बढी हुने गरको पाइएको छ।
बढी मात्रामा देखिने कस्मेटिक्स एलर्जी
बजारमा बिक्री भइरहेका कस्मेटिक्स सामानबाट आर्थिक नोक्सानीमात्र होइन अनुहार नै कुरुप भएर उपचारका लागि अस्पताल जानुपर्ने बाध्यता भएकाहरू पनि थुप्रै छन्।
बजारमा आजभोलि जताततै पाइने नक्कली सौन्दर्य सामग्रीकोे जथाभावी प्रयोगले युवा पुस्ताकोे अनुहारमा विभिन्न प्रकारका समस्याहरू आइरहेको चिकित्सकहरू बताउँछन्। यस्ता सौन्दर्य सामग्रीको जथाभावी प्रयोगले छालामा विभिन्न प्रकारका एलर्जी, इन्फेक्सनलगायत विभिन्न प्रकारका समस्या भएर अस्पताल आउने बिरामीको संख्या पहिलेभन्दा बढी पाइन्छ। नेपाल बाहिरबाट सौन्दर्य सामग्री निकै सजिलोसँग ल्याउन सकिने भएकाले गुणस्तरमा कसैले ध्यान दिएको पाइँदैन।
वास्तवमै बाहिरबाट कस्मेटिक्स सामाग्रीहरू भित्र्याउँदा औषधि जस्तो दर्ता गरिराख्नु पर्दैन। भन्सार तिरेर जस्तोसुकै सामान पनि भित्र्याउन सजिलो छ। त्यसरी भित्र्याइएका सामानहरूमा न गुणस्तर हेरिन्छ, न त ब्रान्ड नै। ब्रान्डेड भनिएका कतिपय सामानहरू पनि छ्यापछ्याप्ती नक्कली पाइने हुनाले ग्राहक पनि अल्लमल्लमा पर्ने गरेका छन्।
त्यस्ता सामाग्रीलाई पनि विभिन्न मार्केटिङ रणनिति अपनाइ, विज्ञापन र प्रचारपसार गरि महँगो मूल्यमा बिक्री गर्ने गरिएको छ। यस्ता सामाग्रीहरूको प्रयोगले छालासम्बन्धी विभिन्न प्रकारका समस्या देखा पर्ने गरेका छन्।
हिजोआज देखासिकी गर्ने प्रवृति सौन्र्दय सामग्रीहरूमा पनि देखिन थालेको छ। त्यो साथीको स्किन कति राम्रो, त्यसले कुन क्रिम लगाउँछे होला? यस्ता कुराहरू महिलाहरूका लागि चासोको विषय बन्ने गर्छ। विशेषगरी टिनएजका केटाकेटीहरूमा यस्तो प्रवृति बढी देखिन्छ। आफूले प्रयोग गरिरहेको क्रिम छोडेर अरूले प्रयोग गर्ने क्रिम प्रयोग गर्न पनि पछि पर्दैनन्। देखासिकीमा कपी गरेका सामग्रीहरू छालालाई सुहाउँदो र गुणस्तरीय कायम नभएको खण्डमा वा छालाले नसहने खालको परेमा छालामा इरिटेसन पैदा भई छालाभरि फोका आउने, चिलाउने, राताराता डाबरडाबर आउने, छाला फुस्रो हुने, स्किनको पातलो लेयर जानेजस्ता समस्याहरू देखा पर्छन्। इन्फेक्सनको कारण पाक्ने, दाग बस्ने, फोहोर देखिने मात्र होइन छालाको रङमै परिर्वतन आउने, दुबी निस्कने जस्तो समस्या देखा पर्छन्।
प्याच टेस्टद्वारा पत्ता लगाउन सकिन्छ एलर्जी
एलर्जी के कारणले भएको हो पत्ता लगाउन सकिन्छ। चिकित्सकको सल्लाहअनुसार किटमा केमिकल राखेर ढाडमा राखिन्छ। त्यसलाई दुई दिनसम्म ‘अब्जर्भ’ गरेपछि केको एलर्जी भएको हो पत्ता लगाउन सकिन्छ।
एलर्जीलाई सामान्य रूपमा लिनु हुँदैन। कुनैकुनै एलर्जी सामान्य रूपमा आफैं ठिक हुने भए पनि कुनै एलर्जीले ज्यानै जान पनि सक्छ। छालामा देखिएका एलर्जीलाई सामान्य सोचेर हेलचेक्रयाइँ गरेमा पाक्ने, एलर्जी भएको ठाउँमा पिप जम्ने, पाक्ने, घाउ हुन सक्छ। समयमै उपचार नगरेमा बिस्तारै बिस्तारै छालामा फैलिन सक्छ।