ललितपुर: जिल्ला सहकारी संघ ललितपुर र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंबीच पाठेघरको मुखको क्यान्सरको जाँच शिविर सञ्चालन गर्न मंगलबार एक सम्झौता भएको छ।
ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा आर्थिक वर्ष २०७९/८० मा पाठेघरको मुखको क्यान्सर न्युनिकरण गर्न कम्तीमा वार्षिक १२ वटा वा सो भन्दा अधिक पाठेघरको मुखको क्यान्सरको जाँच सञ्चालन गर्न सहमति भए बमोजिम मंगलबार एक कार्यक्रमबीच सम्झौता गरिएको हो।
सम्झौतामा जिल्ला सहकारी संघ ललितपुरको तर्फबाट अध्यक्ष केदार गोर्खाली र नेपाल क्यान्सर सहयोग समूहकोतर्फबाट अध्यक्ष दिलिप भटराईले हस्ताक्षर गरेका छन्।
शिविर सञ्चालनका लागि दुवै पक्षबीच नौ बुँदे सहमति भएको हो। सहमति अनुसार शिविर सञ्चालनका लागि जिल्ला सहकारी संघ ललितपरकोतर्फबाट गर्नुपर्ने पाँंच वटा र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंकोतर्फबाट गर्नुपर्ने चार वटा बुँदाहरू उल्लेख छन्।
सम्झौता अनुसार शिविर गर्नका लागि आवश्यक प्राविधिकहरू डाक्टर, नर्स, सहायक र अन्य नेपाल क्यान्सर सहयोग समूह काठमाडौंले उपलव्ध गराउनुपर्ने, शिविर सञ्चालन गर्नका लागि आवश्यक स्थानको पहिचान गर्ने, स्वयमसेवकहरू उपलव्ध गराउने तथा परिचालन गर्ने व्यवस्था जिल्ला सहकारी संघ ललितपुरले गर्नेलगायतका बुँदाहरु रहेका छन्।
कार्यक्रममा दुवै पक्षका वक्ताहरूले शिविरले जिल्लामा क्यान्सर रोगीहरुको पहिचान गर्न सहयोग गर्नुका साथ समयमै रोग पता लगाउन सफल भएर क्यान्सरका कारण अकालमै ज्यान जोगाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे।