असार ५, २०७९ आइतबार

काठमाडौं : ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप आइपुगेको छ।

अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गतको फाइजर खोप पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रा आइपुगेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले  थाहाखबरलाई जानकारी दिए।

उनकाअनुसार सातै प्रदेशमा बालबालिकाका लागि आवश्यक खोप आजै पठाइने तयारी गरिएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेपलाञ्चोकका लागि करिब ३ लाख ३१ हजार खोप काठमाडौंस्थित भण्डारण केन्द्रमा राखिने उनले बताए। भण्डारण कक्षको अभावलाई मध्यनजर गरी सरकारले बालबालिकाका लागि चार पटकमा ५४ लाख खोप ल्याउने थापाले बताए।

परिवार कल्याण महाशाखाका अनुसार ५ देखि ११ वर्षका  ३९ लाख बालबालिकाका लागि दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिनेछ। पहिलो चरणको खोप अभियान यही असार ९ गतेबाट १५ गतेसम्म सञ्चालन हुनेछ। उक्त अवधिमा २७ जिल्लाका १९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो चरणको खोप अभियानबाट पहिलो मात्रा खोप लगाएका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

अन्य ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्राको खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ। दोस्रो मात्राका लागि भदौ महिनाकै २७ गतेदेखि असोजको १ गतेसम्म खोप अभियान चलाउने सरकारको तयारी छ।

दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो मात्रा दिइने महाशाखाले जनाएको छ।