हाल केहि दिन यता झाडापखालाका बिरामी निरन्तर देखिने क्रम जारी छ। अधिकांश बिरामीमा कारक संक्रमण पत्ता लाग्ने गरेको देखिँदैन। झाडापखाला गराउने संक्रमणहरु मध्य हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्ने सम्भावना बढी रहन्छ। १० संक्रमित मध्ये १ जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ। समयमा उपचार गरिएन भने मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्दछ। तसर्थ हैजाको छिटो पहिचान र सहि उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय हो। लक्षणहरुको आधारमा हैजाको शंका गर्न सकिने छ भने निश्चित निदानको लागि दिसाको कल्चर गर्नुपर्दछ।
यी निम्न ५ लक्षणहरु देखिए हैजाको शंका गर्न सकिने छ:
१ अचानक पीडारहित चामल पखालेको चौलानी पानी जस्तो अत्यधिकरतारन्तार दिसा हुनु।
२ बान्ता तारन्तार हुनु।
३ पेट वारतथा खुट्टाका मांशपेशीका बाउँडिने।
४ तिर्खा लाग्ने।
५ बेचैनी हुनु।
हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ। गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा ८८५ जना संक्रमित भए भने ती मध्य चार जना बिरामीको मृत्यु समेत भएको थियो। र ती चार जना मध्ये ३ जना त १० वर्ष मुनिका नै थिए। समयमा उपचार नपाउदा यी संक्रमितहरुको मृत्यु भएको थियो।
हाल समुदायस्तरमा झाडापखाला देखिएको र धेरैले आफैं औषधि लिने गरेको देखिन्छ र स्वस्थलाभ गर्न नसके मात्र अस्पताल भर्ना हुने गरेका देखिन्छन्। तर हैजामा उपचार ढिला भए जटिल अवस्था देखिन सक्ने भएकोले यी माथि उल्लेखित लक्षणहरु देखिए तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ।
(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)