असार १, २०७९ बुधबार

मान्छेको जीवनमा दु:ख, पीडा, अभाव, सुख, सुविधाहरू स्वाभाविक हुन् । यी आउँछन् - जान्छन्, जीवन चलिरहेको हुन्छ । सुन्दरहरैँचा नगरपालिका-४ दुलारी घर भएकी ४५ वर्षीया विमला पुरीले २०७७ को फागुनतिर आफ्ना श्रीमान् तेजबहादुरको स्वास्थ्यको कारण धेरै नै चिन्तित हुनुपर्‍यो।

किनकि, त्यसबेला ५३ वर्षीय तेजबहादुरको स्वास्थ्य परीक्षणको रिपोर्टमा ‘एउटा किड्नी फेल’ भन्ने लेखिएको थियो र सँगसँगै लेखिएको थियो, ‘अर्को मिर्गौलामा पनि पत्थरी छ।’

श्रीमान्‌को स्वास्थ्य रिपोर्ट हेरेपछि विमलालाई अत्त्याहट भयो। ५३ वर्षीय आफ्ना श्रीमान्‌को शरीरका महत्त्वपूर्ण अंग दुई किड्नीमध्ये एउटा बिग्रिसकेको र अर्कोको पनि ‘ढुकढुकी’ मात्र रहेको थाहा पाएपछि उनलाई अत्यास लाग्यो। यो उनका लागि ठूलो बज्रपात थियो, भूकम्पै थियो।

त्यसअघि पनि उनको जीवनमा स-साना पराकम्प भने नगएका होइनन्। श्रीमानको स्वास्थ्य विमलाका लागि चिन्ताकै विषय हुन थालेको करिब १५ वर्ष नै भएको थियो। २०६४ सालतिर तेजबहादुरको दुबै मिर्गौलामा पत्थरी थियो। 

होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीका अध्यक्षसमेत रहेका तेजबहादुरले त्यसअघिदेखि नै प्रेसर र सुगरको औषधि खाइरहेका थिए। पत्थरी, सुगर र प्रेसरका कारण उनले एउटा कानको श्रवण शक्ति गुमाएका थिए। 

२०७६ साको अन्त्यतिर पनि तेजबहादुरको किड्नीमा पत्थरीले जरा गाडेपछि विमलाको मनमा सुर्ता छाएको थियो। तर सोही वर्ष मोरङ सहकारी अस्पतालमा डाक्टर दीपक सिग्देलले दाहिने किड्नीमा रहेको स्टोन निकालिदिएपछि विमलाको मनमा चिन्ता केही कम भयो। 

एक वर्षपछि नै अर्को किड्नी ‘फेल’ भएको थाहा पाएपछि नै विमलाको मनमा पिरको ढ्यांग्रो नै बज्यो। दाहिने किड्नी फेल भएको थियो भने देब्रे किड्नीमा स्टोन छँदै थियो। विमलाले श्रीमान् तेजबहादुरको एउटा किड्नी ‘फेल’ भएको दु:खद् खबर सुनिन्। अब, उनीसँग दुइटा विकल्प थिए, एउटा ‘ट्रान्सप्लान्ट’ अर्को ‘डायलासिस’।


त्यसबेला उनको स्वास्थ्य राम्रै रहेका कारण विमला ट्रान्सप्लान्ट गर्ने नै योजना थिइन्। तर परिवार भने उनीसँग सहमत थिएन। उनीहरूका जेठा छोरा सुजनले ट्रान्सप्लान्ट गरेर आमाको स्वास्थ्य पनि बिग्रने डरका कारण विमलाको कुरामा असहमति जनाए। बरू डायलेसिस गर्दा बुबाको स्वास्थ्य स्थिर बनाउन सकिन्छ भन्ने उनमा थियो।
 
विमला भने आफ्नो निर्णयमा अडिग रहिन्। तर ट्रान्सप्लान्ट सहज थिएन। सबैभन्दा पहिले कसको किड्नी लगाउने भन्नेबारे परिवारमा सल्लाह भयो। परिवारमा पूर्ण रूपमा सारसौँदो विमला नै थिइन्। अरूलाई स्वास्थ्यमा कुनै-कुनै समस्या थियो। यसैले पनि विमलाले आफ्ना श्रीमान् तेजबहादुरलाई मिर्गौला दान दिने निश्चय गरिन्।

‘बाबाको एउटा किड्नी फेल भएको थियो, अर्को किड्नीमा अल्रेडी स्टोन थियो,’ विमला र तेजबहादुरका छोरा सुजन भन्छन्, ‘हामीमा पनि कुनै-कुनै स्वास्थ्य समस्या थियो। ममीले म स्वस्थ छु, म दिन्छु भन्नुभयो। हामीले तपाईंको स्वास्थ्यमा समस्या आउन सक्छ भनेर त्यसो नगर्न सुझाव दियौँ तर उहाँ आफ्नो निधोमा अडिग रहनु भयो।’

तेजबहादुरकी आफ्नी आमा पनि एउटै किड्नी लिएर पूर्ण आयु बाँचेकी थिइन्। आमा ७५ वर्षको हुँदा मात्र उनीहरूले एउटा किड्नीमात्र भएको र स्वस्थसँग जीवनयापन गरिरहेको थाहा पाएका थिए। आफ्नी सासूलाई नै सम्झेर भए पनि विमलाले तेजबहादुरसँग भनेकी थिइन्, ‘एउटा किड्नीले पनि मान्छे बाँच्दोरहेछ त, हामी पनि किड्नी बाँडेर सँगै बाँचौं न!’

‘हाम्री हजुरआमाको जन्मदै एउटा मिर्गौला रहेनछ,’ सुजनले भने, ‘सायद त्यसबाट पनि ममीले आफूमा आत्मविश्वास भर्नुभयो। ड्याडीले भने ममीको स्वास्थ्य बिग्रने डरका कारण उहाँबाट किड्नी लिन अस्वीकार गरिरहनु भएको थियो। तर ममीले कन्भिन्स गराएरै छोड्नुभयो।’

विमलालाई थाहा थियो, कानुनी रूपमा आफन्तबाहेक अरूको मिर्गौला लिन पाइँदैन। नेपालमा कुनै पनि व्यक्तिलाई अंग प्रत्यारोपण गर्न परे उसका आफन्तले अंग दान गर्न सक्ने कानुनी व्यवस्था रहेकोबारे उनी जान्थिन्। 

श्रीमानको संगतले उनी पनि धेरै कुरामा जानकार भएकी थिइन्। मिर्गौला प्रत्यारोपणका विषयमा पनि उनले मानव शरीरको अंग प्रत्यारोपण ऐनमा नजिकका नातेदारहरूले अंग दान गर्न सक्ने व्यवस्था गरिएको कुरा जानेकी थिइन्।

मिर्गौला दान गर्नु भौतिक दानजस्तो थिएन। त्यो अंगको दान थियो, जुन आफ्नो शरीरका लागि पनि महत्त्वपूर्ण हो। भनिन्छ नि, दान दिएमा आफूमा भएको वस्तु पनि बढेर जान्छ। तर मिर्गौला दान दिँदा त्यो ठाउँमा अर्को मिर्गौला पलाएर आउँदैन। अझ आफू पनि कमजोर भइन्छ।

दान गर्ने मान्छेको जोडी अंगमध्ये कुनै एक अंग झिक्दा दातालाई त्यसको कारण स्थायी रूपबाट अशक्त नबनाउने भनेर कम्तीमा दुई जना चिकित्सकले प्रमाणित गरेपछि मात्र अंग प्रत्यारोपण गर्न पाइन्छ। यस्ता कुराले पुरीको परिवार झस्किरह्यो। तर जसरी होस्, मिर्गौला बाँडेर सँगै जिउने प्रण गरेकी विमलाले हार मानिनन्, आफूलाई कमजोर ठानिनन्।

२०७८ वैशाखतिर नै उनीहरूले किड्नी ट्रान्सप्लान्ट गर्ने योजना बनाए। तेजबहादुरको उपचारमा भारतमा गर्ने परिवारको तयारी थियो। त्यसका लागि उनीहरूले एजेन्टसमेत खोजे। एजेन्टले अनुमानित ४५ लाख रुपैयाँ लाग्ने कुरा बतायो। त्यसबीचमा कोभिड-१९ का कारण लकडाउन भयो, जसकारण उनीहरू थप समस्यामा परे।

लकडाउन खुलेसँगै दसैँतिहारले पनि छोइसकेको थियो। तिहार सकिएपछि उनीहरू भारत नगई काठमाडौँस्थित सहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र पुगे। त्यहाँ कार्यरत डाक्टर पुकार श्रेष्ठले उनीहरूलाई पुसतिरको मिति तय गरिदिए।

‘हामी सकेसम्म डायलेसिस नगरी ट्रान्सप्लान्ट गरौँ भन्ने मनसायमा थियौँ,’ सुजनले भने, ‘त्यसबीचमा अस्पताल धायौँ, मंसिरसम्ममा फिस्टुला बनायौँ। बुबाले खानपानमा राम्रो बार्नुभयो र म ठिक छु भन्दै त्यसबीचमा ट्रान्सप्लान्ट गर्न आनाकानी गरिरहनुभयो।’

तेजेन्द्र माघतिर नै भर्ना भएका थिए। त्यसबीचमा अस्पतालले आफ्नो प्रक्रिया चालू नै राख्यो। अनि, त्यसबीचमा डाक्टरहरूले ‘फेल’ भएको किड्नी झिकेर फालिदिए। अर्को किड्नीमा भएको ढुंगा पनि त्यतिबेलै फाल्ने परिवारको योजना थियो। तर डबल अपरेसन गर्दा बिरामीमा जोखिम हुने भन्दै डाक्टरले बिग्रेको किड्नीमात्र फालिदिए।

बेड रेस्ट र अस्पतालको प्रक्रियाकै कारण जेठ लाग्यो। त्यसबेलासम्म तेजबहादुर तंग्रिसकेका थिए। विमला पनि श्रीमानलाई मिर्गौला दान गर्न तयार देखिएकी थिइन्। अस्पताल बसाइकै क्रममा पनि अंग प्रत्यारोपण गरेका धेरै मानिससँग उनको भेट भयो। उनीहरूको अनुभव सुनेपछि विमलाले पनि आफूमा थप आत्मविश्वास भरिन्।

जेठ अन्तिमतिर भने विमला पनि भर्ना हुनुपर्‍यो, आफ्ना श्रीमानलाई अंग दिन। दुबै जनालाई एकैसाथ अपरेसन थिएटर लगियो। सोमबार अपरेसन थिएटर जानुअघि विमला र तेजबहादुरले एकार्काको अनुहार नियाले। उनीहरू भावुकतासँगसँगै आत्मविश्वासले भरिपूर्ण देखिए। केही फोटो खिचाएपछि उनीहरूलाई फरक-फरक स्ट्रेचरमा राखेर अप्रेसन थिएटर लगियो।

अन्ततः सोमबारै डाक्टर पुकार श्रेष्ठले मिर्गौला प्रत्यारोपण सफल भएको घोषणा गरेसँगै परिवारमा नयाँ उमंग छायो। अहिले विमला र तेजबहादुर दुवै स्वस्थ भएर वार्डमा सरिसकेका छन्। 

‘शरीरमा दुखाइ भए पनि मनमा सन्तुष्टि छ,’ विमला हाँस्दै भन्छिन्, ‘हाम्रो मनसँगसँगै किड्नी पनि साटासाट भएको छ। उहाँको र मेरो स्वास्थ्यले पनि सधैँ साथ दिइरहोस्।’ 

मिर्गौला प्रत्यारोपण गर्दा अस्पतालले सहज र सुलभ रूपमा गरिदिएको छोरा सुजनको भनाइ छ। सरकारी सहायता राम्रो रहेको बताउँदै उनले अहिलेसम्म १५ लाखजति खर्च भएको बताए। ‘भारत गएको भए ३० लाखभन्दा धेरै खर्च हुने रहेछ,’ उनले भने, ‘फेरि, भाषा नमिल्ने र अर्काको परिवेश नजान्दा ठगिने, लुटिने डर थुप्रै हुन्थ्यो। नेपालमै गरियो, खर्चदेखि अनेक कुरामा सहज र सुलभ भयो।’

२०४८ सालमा विवाह गरेका पुरी दम्पती मिलेर लामो समय धनकुटाको सिदुवामा होटल चलाए।

पछि २०६४ सालतिर सुन्दरहरैँचा बसाइँ सरेका तेजबहादुर होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीका अध्यक्ष बने। तिरुपति, पाथीभरा, शुभकामना र मेचीकाली होटलका मालिक बने। तेजबहादुरका सफलताका हरेक खुट्किलामा विमला थिइन्। नवपथले लेखे झैँ सुखमा झैँ दुःखमा पनि सँगसँगै थिइन्, उनी।