सल्यान: जिल्लाको दार्मा गाउँपालिकाले गर्भवती महिलाको गाउँमै पुगेर गर्भचाँच सेवा दिन थालेको छ।
स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै गाउँपालिकाले चिकित्सक सहितको टोली गर्भवतीको गाउँमै पुगेर गर्भजाँच अन्तरगत आल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा दिएको हो।
स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए। गर्भजाँच गराउन शहर बजार जानु पर्ने बाध्यतालाई हटाउन गाउँमै गर्भजाँच सेवा सञ्चालनमा ल्याएको उनको भनाई छ।
नियमित गर्भजाँच सेवाले मातृ मृत्युदर घटाउन सहयोग पुग्ने बस्नेतको भनाई छ। ‘पालिकाका चार स्वास्थ्य संस्थामा पुगेर गर्भवती महिलाको निःशुल्क गर्भजाँच सेवा दिइएको छ’, उनले भने। दार्माका चार स्वास्थ्य संस्थामा गरिएको निःशुल्क शिविरमा ६१ जनाले सेवा लिएको उनले बताए।
आर्थिक अभाव, समय र यातायातको दुर्गमताका कारण गर्भजाँच गर्न जान नसक्नेहरुलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो। शिविरबाट विपन्न वर्ग तथा विकट वस्तीका महिलालाई सेवा लिन सहज भएको कार्यालयले जनाएको छ।