जेठ २७, २०७९ शुक्रबार

काठमाडौं- ‘प्रिन्स महिडोल अवार्ड २०२२’ को लागि नेपालबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  सिफारिस  गरिएको छ। थाइ राजकुमारको नाममा स्थापित उक्त अवार्डका लागि शुक्रराज अस्पताललाई सिफारीस गरिएको हो।

कोभिड १९ को महामारी व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै शुक्रराज अस्पताललाई उक्त अवार्डका लागि सिफारिस गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त अवार्डको राशी एक लाख डलर रहेको छ।

आगामी जनवरीमा वितरण हुने उक्त अवार्डका लागि नेपालको तर्फबाट शुक्रराज अस्पताल मनोनयनमा परेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले पुष्टि गरे। 

उनले भने, ‘कोरोना महामारीमा राम्रो काम गरेको भन्दै सरकारले नेपालको तर्फबाट शुक्रराज अस्पताललाई मनोनयन गरेको हो। अहिले मनोनयनमा परेका छौँ। पाउने÷नपाउने निश्चित हुन बाँकी छ।’

कोभिड महामारीमा शुक्रराज अस्पतालले पाल मुनि राखेर भएपनि बिरामीको उपचार गरेको थियो। कोरोना महामारी व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि यो अस्पतालको क्षमता भने विस्तार हुन सकेको छैन।