जेठ २२, २०७९ आइतबार

काठमाडौं: ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।

आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साही हुनुनपर्ने बताए। उनले अहिले धेरै प्रकारको टेक्नोलोजी र विज्ञताहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए।

उनले भने, ‘रोग लाग्यो भन्दैमा हतोत्साही हुने, औषधि नै नगर्ने, हाम्रो पालोमा रोग लागेपछि घर पठाइन्थ्यो तर अब त्यो जमाना होइन। धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसक्नुभएको छ।’

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले  क्यान्सरका धेरै औषधिहरु निःशुल्क पाइने गरेको तर यसलाई जनतामाझ पुर्‍याउने कुरामा कमजोरी रहेको बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा दुईमत नरहेको जानकारी दिए।

निर्देशक पौडेलले सरकारले क्यान्सरको क्षेत्रमा आम नागरिकहरुलाई सहयोग गर्नुपर्ने र क्यान्सर पीडितका लागि सुविधायुक्त अस्पतालहरु बनाउनु पर्ने बताए।

उनले भने, ‘क्यान्सरका धेरै औषधिहरु निःशुल्क पनि पाइन्छन्, त्यो पनि अझै सबैले पाउन सकेका छैनन्। हामीले यसलाई बढाउनु पर्नेछ। ब्लड क्यान्सर उपचार गरेर निको हुन्छ भन्ने सबैभन्दा राम्रो उदाहरण हाम्रो महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्दा हुन्छ। यसमा सरकारको दृष्टिकोणबाट पनि सहयोग हुनुपर्छ। सरकारले क्यान्सरका बिरामीहरुका लागि उहाँहरुको सुविधा उपलब्ध हुने खालको सेवाहरु डेभलप गर्नुपर्छ।’

त्यस्तै, भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकाले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताए।

उनले बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलभ हुँदै जाने बताए। दुई वर्ष यता कोरोनाका कारण राम्रोसँग काम गर्न नपाएको र अब नेपालकै स्थानीय सिस्टमलाई विकास गर्न आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्नुभन्दा भारतबाटै यहाँ डाक्टर आएर उपचार गर्दा सस्तो हुन्छ र उपचार पनि राम्रो हुन्छ भन्ने सोचेर नै मैले नेपालमा आएर क्यान्सरको उपचार गर्न थालेको हूँ। हामीले ग्रुपमा यो काम गरिरहेका छौँ। बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलभ हुँदै जानेछ। हामीले दुई वर्षयता काम राम्रोसँग गर्न सकेका छैनौँ। कोरोनाका कारण अब लोकल सिस्टमलाई डेभलप गर्नुपर्छ।’

त्यस्तै हेमाटोलोजिस्ट डा. निरजकुमार सिंहले वीर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचार गरिरहेको बताए। उनले जुनसुकै ब्लड क्यान्सर सम्बन्धी उपचार समयमै भए निको हुने बताए। उनले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताए।

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नति गर्ने काम भइरहेको बताए। उनले वीर अस्पतालमा सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताए। अस्पतालमा सबै किसिमका सेवाहरु विशिष्टीकृत हुन्छ भन्ने कुरा प्रमाणित गर्ने गरेर काम अघि बढिरहेको बताए।

त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्ननहुने बताए। उनले ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको बताए।

त्यस्तै, क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्ननहुने बताइन्। उनले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको बताइन्।