विराटनगरस्थित कोशी अस्पतालमा डीपीटी खोप लगाएपछि १ नवजात शिशुको मृत्यु भएको छ, जसमा अनुसन्धान शुरू गरिएको छ ।
मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका सोयल खानका छोरा अढाइ महिनाको सोयव खानलाई बुधवार दिउँसो खोप लगाइएको थियो । खोप लगाएको १ घण्टापछि नवजात शिशुको मृत्यु भएको परिवारको भनाइ रहेको छ ।
मृतकका बुवा सोयलका अनुसार छोरालाई नियमित लगाउने डीपीटी खोप बुधवार दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा ११ः३० लगाएको बताएका छन् ।
‘खोप लगाएपछि घर पुर्याउँदा छोराको नाक र मुखबाट फिज आएको थियो,’ उनले भने, ‘तत्काल हामीले कोशी अस्पतालमा लग्यौं ।’
अस्पतालमा चिकित्सकलले १ः४५ बजे मृत्यु भएको घोषणा गरेका थिए । खोप लगाएकै कारणले छोराको मृत्यु भएको खान परिवारको दाबी छ ।
‘खोपको गुणस्तरको विषयमा छानबिन गरी के कारणले छोराको मृत्यु भएको हो रु यसको यथार्थ घटना सार्वजनिक गरिनुपर्छ,’ बुवा सोयल खानले भने, ‘खोपको असरले छोराको मृत्यु भएको पुष्टि भए विश्व स्वास्थ्य संगठनलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’
कोशी अस्पतालका सुपरिन्टेन्डेन्ट डा। यज्ञराज खरेलले खोप लगाएर नवजात शिशुको मृत्यु भएपछि छानबिन समिति गठन गरेर अनुसन्धान शुरू भएको बताए । उनले घटनाको विषयमा स्वास्थ्य संगठनका प्रतिनिधिलाई जानकारी गराएपछि अहिले स्वास्थ्य संगठनका प्रतिनिधिहरू अस्पताल आएर छानबिन शुरू गरेका बताए । स्वास्थ्य संगठनले खोपको असरबारे छानबिन गर्ने बताए ।
‘एक भाइल खोपमा १० डोज हुन्छ । एक भाइल खोपबाट १० जना शिशुलाई खोप लगाउन मिल्छ । कोशी अस्पतालबाट खोप लगाइएका अन्य ९ जना शिशुलाई कुनै असर गरेको छैन,’ उनले भने ।
खोप लगाएर नवजात शिशुको मृत्यु भएपछि ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । विश्व स्वास्थ्य संगठनका सर्बिलेन्स मेडिकल अफिसर डा। करिश्मा गुरुङको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको मेसु खरेलले जानकारी दिए । समितिले ७ दिनभित्र प्रतिवेदन दिने उनले बताए ।