नेपालमा अब फलफूल एवम् जडिबुटी उत्पादन तथा प्रशोधन उद्योगले सस्तो ब्याजदरमा कर्जा पाउने भएका छन्।
राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै फलफूल एवम् जडिबुटी उत्पादन तथा मुलुक भित्रै उत्पादित यी वस्तुको प्रशोधन गर्ने परियोजनामा बैंकहरूले आधार दरभन्दा बढीमा २ प्रतिशत ब्याज लिन पाउने भएका हुन्।
गत चैत अन्त्यसम्ममा वाणिज्य बैंकहरूको आधार दर ६.९७ देखि करिब १० प्रतिशतसम्म थियो। त्यस्तै, विकास बैंक र वित्त कम्पनीहरूको अधिकतम १४.२६ प्रतिशतसम्म छ।
यसआधारमा यस्तो परियोजनाले वित्तीय संस्थाहरूबाट ८ देखि १५ प्रतिशतसम्ममा कर्जा पाउने अवस्था छ। यस्तो ब्याज दर जग्गा खरिद गर्न प्रवाह हुने भएका कर्जामा भने लागू हुने छैन।