पछिल्लो समय रेबिज रोगबाट हुने मृत्युको संख्या ह्वात्तै बढेको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालमा एक महिनाको अवधिमा १० जना रेबिजका बिरामीको मृत्यु भएको छ।
टेकु अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार एक महिनाभित्र अस्पतालमा रेबिजका १० जना बिरामीको मृत्यु भएको बताए। ‘अहिलेको अवस्थामा एक महिनामै रेबिजबाट १० जनाको मृत्यु हुनु भनेको ठूलो कुरा हो, यो त अझै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्याको आधारमा भयो कतिपय त उपचारमा नआएको पनि हुनसक्छ’उनले भने।
पछिल्लो एक महिनामा कोरोना संक्रमणबाट हुने मृत्यु भन्दा धेरै रेबिजबाट बिरामीको मृत्यु भएको छ। सरुवा रोगसम्बन्धी विज्ञ डा। शेरबहादुर पुनका अनुसार एक महिनाको समयलाई हेर्ने हो भने कोरोनाको लहर घट्दै जाँदा कुकुरको टोकाइ बढ्दै गएको देखिन्छ। ‘एक महिनाको अवधिमा अस्वभाविक रुपमा रेबिजबाट मृत्यु हुनेको संख्या बढेको छ, धेरैजसो बिरामी काठमाडौं र यस आसपासका बिरामीहरु रहेका छन’उनले भने।
डा। पुनका अनुसार पछिल्लो समय टेकु अस्पताल कुकुर तथा अन्य जनावरले टोकेर उपचार गराउन आउने बिरामी संख्या पनि धेरै छ। हाल अस्पतालमा दैनिक ५ सय जनासम्म कुकुर तथा अन्य जनावरले टोकेका बिरामी उपचारमा आउने गरेको उनले बताए।
‘अहिले अस्पतालमा आउने बिरामीको दैनिक संख्यालाई हेर्ने हो भने कुकुर तथा अन्य जनावरको आक्रमण बढेको देखिन्छ, तर हाम्रोमा अहिले मृत्यु भएका प्रायस् सबै बिरामीहरु कुकुरको टोकाइबाट रेबिज संक्रमण भएको देखिन्छ’उनले भने।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष एक सय जना नयाँ बिरामी देखा पर्छन । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ । एक करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ ।
एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । कतिपय देशहरुले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन् ।
के हो रेबिज?
रेबिज उच्च सरुवा, प्राणघातक रोग हो। रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
नेपालमा देखिने धेरै जसो रेबिजका बिरामी कुकुरले नै टोकेको हुने गरेको डा। पुनको भनाइ छ। उनका अनुसार सुरुमा जनावरको र्यालमा रहेको भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । रेबिज भाइरस गिदीमा पुगेपछि मात्र विशेष लक्षणहरू देखिने गरेछ।
लक्षण देखिएपछि सकिन्न बचाउन
रेबिज रोगको लक्षण देखिन थालेपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो ।
कुकुर तथा अन्य जनावरले टोकेपछि समयमा नै रेबिज बिरुद्धको भ्याक्सिन लगाउन सकियो भने रेबिजबाट बच्न सकिने भए पनि मानिसहरुले सानो घाउ छ भनेर हेलचक्र्याइँ गर्दा अहिले धेरै बिरामीको मृत्यु भएको डा पुनले बताए।
उनका अनुसार रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । यदि कुनै पनि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र त्यही समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाउन सकियो भने रेबिज सन्चो हुने उनले बताए।
रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ। कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने उनको भनाइ छ।
‘अहिले मृत्यु भइरहेका बिरामीहरुको अवस्था हेर्ने हो भने उनीहरुले कुकुरले टोके पनि सामान्य घाउ छ भनेर खोप नलगाइ बस्दा केही समयपछि रेबिजको लक्षण देखिएपछि मात्रै अस्पताल उपचारमा आएको अवस्था छ, यस्तो गर्नु हुदै यदी कुकुरले टोकेको छ र सामान्य घाउ भए पनि खोप लगाउन अनिवार्य हुन्छ’उनले भने।