बैशाख ४, २०७९ आइतबार

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए । सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको बताए ।
त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए । उनले आगामी दिनमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

सहप्रवक्ता अधिकारीले भने, ‘हामीले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेदेखि यो बीचको अवधिमा १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको थियो । यद्यपी पछि १८ वर्ष भन्दा मुनिको १२ वर्षभन्दा माथिको उमेर समूहलाई पनि लगाउन मिल्ने खोप पनि सिफारिस भयो ।

त्यसपछि खोप ल्याउने र लगाउने गरेका छौँ । लक्ष्यको कुरा जुन छ, हामीले त्यसमा खोप अभियान हेर्ने हो भने चैत मसान्तभित्र १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने भनेर हामीले लक्ष्य राखेका थियौँ । लक्ष्य राखे अनुसार हामी अब ९० प्रतिशतभन्दा माथि ९४र९५ प्रतिशत खोप एक मात्रा लगाइसकेको छ ।

पूर्ण मात्रा तोकिएको समयभित्र सबैलाई लगाउन सकेको भए राम्रो हुन्थ्यो । यद्यपि पूर्ण मात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ । यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ । चैत्र ३० गतेपछि नै हाम्रो खोप अभियान पूर्ण रुपमा बन्द हुने होइन । संक्रमणबाट बच्नका लागि जतिसक्दो चाँडो बाँकी व्यक्तिहरुलाई खोपको दायरामा ल्याउनको लागि र खोप लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउनका लागि हामीले यो अभियानलाई निरन्तर अघि बढाउनैपर्छ ।’