चैत २७, २०७८ आइतबार

काठमाडौँ, चैत २७ गते । महँगो उपचार प्रणालीका कारण हरेक वर्ष नागरिक गरिब हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । नागरिकको स्वास्थ्य सेवामा सरकारी लगानी बढाउन थुप्रै प्रयास भए पनि लक्ष्यअनुसार काम हुन नसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकार गरेको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार स्वास्थोपचारका लागि जनताले ५७ प्रतिशत रकम आफ्नै खल्तीबाट खर्च गर्दै आएका छन् । यसमा सरकारी लगानी नगन्य छ । सन् २०२० भित्र स्वास्थ्य प्रणालीमा व्यक्तिको लगानी ४४ प्रतिशतमा झार्ने सरकारी योजना भए पनि सफल नभएको मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका सहसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार महँगो उपचार प्रणालीका कारण हरेक वर्ष राष्ट्रिय रूपमा १.७ प्रतिशत तथा गरिबीको रेखामुनि रहेकामध्ये ६.९ प्रतिशत नागरिक झन् गरिब हुने गरेका छन् । उपचारमा खर्च हुनेमध्ये अधिकांश रकम औषधि खरिदमा हुने गरेको छ । हाल नेपालमा पाँच लाख गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित रहेको राष्ट्रिय योजना आयोगको तथ्याङ्कमा उल्लेख छ । पौडेलले भन्नुभयो, “उपचारका लागि नागरिकको खल्तीको रकम धेरै प्रयोग भएपछि नागरिकमा वित्तीय जोखिम पनि बढाउने गरेको छ । यसले स्वास्थ्य क्षेत्रमा सरकारी लगानी पुगेन भन्ने पनि देखाउँछ ।”