स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले साउन महिनादेखि बोर्डले साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको बताएका छन् । उनले ६ वर्षको अवधिमा अस्पतालहरूलाई १६ अर्बभन्दा बढी रकम भुक्तानी गरिसकेको सुनाए । तर बीमितहरूलाई उपचार गराएबापत आफूले समयमै भुक्तानी नपाएको गुनासो अस्पतालहरूले गर्दै आएका छन् ।
बोर्डले सेवा प्रदायक संस्थाहरूलाई अझै ७ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यकारी निर्देशक बसौलाले सेवा प्रदायक संस्थाहरूले तत्कालै भुक्तानी पाउने चाहना राख्नु स्वाभाविक भए पनि कर्मचारी अभाव र विविध कारणले तत्काल भुक्तानी दिने अवस्था नरहेकोे बताए ।
अति गरिब परिवारका ५ लाखले गराए स्वास्थ्य बीमा
नेपालमा अति गरिब परिवारका झण्डै ५ लाख सदस्यले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार ४ लाख ८८ हजार ४ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल पछिल्लो समय स्वास्थ्य बीमा गराउने दर बढ्दै गएको बोर्डका अध्यक्ष डा.सिनेन्द्र उप्रेतीले बताए ।
२०७१ चैत २५ गते कैलाली जिल्लाबाट औचारिक रूपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लामै विस्तार भइसकेकोे डा.उप्रेतीले बताए । बीमित सदस्यमा एच.आई.भी संक्रमित परिवारका २५ हजार २८९ जना र अति अशक्त अपाङ्गता भएका परिवारको ९३ हजार ६२९ जना छन् ।
यस्तै, कुष्ठरोग संक्रमितको परिवारका २ हजार ८४९ जना, एम.डी.आर. क्षयरोगी परिवारका दुई हजार ४७४ जना, महिला स्वास्थ्य स्वयंसेवीको परिवारका ८३ हजार ६२६ जना र ज्येष्ठ नागरिक ६ लाख ३४ हजार ७३५ जनाले पनि स्वास्थ्य बीमा गराएका छन् ।
७७ जिल्लाका ७४५ वटा वार्डमा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ । नेपालमा कुल बीमित परिवार भने जम्मा २७.७९ प्रतिशत अर्थात् १५ लाख ८ हजार ५१४ छन् । बोर्डका अनुसार, कुल बीमितमध्ये सेवा लिने ३९.३९ प्रतिशत अर्थात् २० लाख ८९ हजार ५९९ जना छन् । यस्तै, स्वास्थ्य बीमा गराउने २०.०३ प्रतिशत अर्थात् ५३ लाख ४ हजार २७० जना छन् । स्वास्थ्य बीमा गराउनेहरुलाई देशका ४४१ स्वास्थ्य संस्थाबाट सेवा प्रदान हुँदै आएको छ ।