विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान ७ बजेतिर अस्पतालनजिक डेरा बसेको घरको कम्पाउण्डभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । शव अहिले घटनास्थलमै छ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २७ वर्षीय डा. यादव ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भाडामा लिएर डेरा बस्दै आएको प्रहरीले जनाएको छ।
घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
डीएसपी श्रेष्ठका अनुसार डा. यादवको मृत्युको कारण खुल्न सकिरहेको छैन। यद्यपि घटनास्थलको प्रकृति हेर्दा हामफालेर उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। श्रेष्ठले शव पोस्टमार्टमका लागि पठाएर घटनाको थप अनुसन्धान अघि बढाइने बताए। अनुसन्धानपछि मृत्युको कारण यकिन हुने उनको भनाइ छ।