चैत १५, २०७८ मंगलबार

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका छन्। सूर्यविनायक नगरपालिका-८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।

पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए।

तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए।

तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन्।

तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए।

तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने प्रसाईंले बताए।

तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए।

छ महिनाअघि माओवादी छोडेर नेकपा एमालेमा आएका उनलाई ओलीले केन्द्रीय समितिमा मनोनित गरेका थिए। उनी एमालेको उद्योग विभागका उपप्रमुख छन् भने झापाका मेडिकल व्यवसायी पनि हुन् ।