फागुन २९, २०७८ आइतबार

१५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी २५ चैतदेखि वैशाख १८ सम्म १५ महिनादेखि १५ बर्ष उमेर समूहका देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने निर्णय गरेको हो।

परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालका अनुसार उक्त उमेर समूहका बालबालिकालाई स्कुल स्कुलमा लगेर खोप दिइन लागिएको बताए। ‘हामीले अभियानकै रूपमा यो खोप १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिन लागेका छौँ’‚ उनले भने।

७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउने

१५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको र ती सबै बालबालिकाले खोप पाउने समेत दाहालले जनाए। यस्तै हाल एक महिना जति अभियानकै रूपमा खोप लगाइए पनि वैशाख १८ गते पछिको एक महिनापछि भने यो खोपलाई बालबालिकालाई नियमित खोपको कार्यक्रमको सूचीमा राखेर अब सधैँ खोप दिइने समेत उनले बताए।

‘अहिले अभियानकै रूपमा खोप लगाइए पनि अबदेखि हामीले १५ महिना पुगेका बालबालिका सबैलाई यो खोप दिन्छौँ, जसका लागि हामीले यो खोपलाई पनि बालबालिकालाई हाल दिइँदै आएको खोपहरूकै सूचीमा राखेर खोप दिने तयारी गरेका छौँ”‚ दाहालले भने।  

अहिले खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको समेत उनले बताए।

हाल महाशाखाले टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुरुवातसम्बन्धी कार्य सञ्चालन निर्देशिका तयार पारी त्यसअन्तर्गत क्रियाशील हुनुपर्ने स्वास्थ्यकर्मीलाई तालिम दिन थालेको दाहालको भनाइ छ।

हाल केही खोप आइसकेको र केही खोप आउने क्रममा रहेको समेत दाहालले बताए। १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन लागिएको टाइफाइड रोगविरुद्धको खोप अनुदानमा आउने समेत बताइएको छ।

 एक मात्रा लगाए पुग्छ खोप

बालबालिकालाई लगाउन लागिएको टाइफाइडविरुद्धको खोप एक मात्रा लगाए पुग्ने समेत दाहालले बताए। ‘यो खोप एक मात्रा मात्रै लगाए पुग्छ, एकपटक लगाएपछि अर्को पटक लगाउन पर्दैन’‚ उनले भने।