फागुन २३, २०७८ सोमबार

गाडी सम्झनेबित्तिकै तपाईँलाई रिँगटा लाग्ने हुन्छ ? यो समस्या आम रूपमा पाइन्छ । अधिकांश मान्छेले कुनै न कुनै रूपमा यस्तो समस्या भोगेका हुन्छन्। तीन जनामा एक जनालाई कुनै न कुनै रूपमा यो समस्या हुन्छ।

अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो । 

गाडीमा यात्रा गर्दा एकातिर मस्तिस्कले कुनै गतिविधि भएको छैन भन्छ तर गतिविधि भइरहेको हुन्छ। यस्तो अवस्थामा रिंगटा लाग्छ। पेटमा अफ्ठ्यारो हुने पेट फुलेजस्तो हुने, चिसो हुने, पसिना आउँछ अनि वान्ता हुन्छ। कतिपयलाई धेरै हुन्छ भने कतिलाई थोरै।


यसलाई पूर्ण रूपमा रोक्न सकिदैन तर कम गर्न सकिन्छ। कसैलाई थोरै हुने कसैलाई धेरै हुने अनि कसैलाई यात्रा गरेको भोलिपल्ट समेत हुन्छ।

गाडीमा वान्ता हुनेले यात्रा गर्नुभन्दा पहिलानै होसियारी अपनाउनुपर्छ। लामो यात्रा गर्नुछ भने राति मजाले सुत्नुपर्छ त्यस्तै रक्सी खानुहुँदैन। रक्सीले पनि गाडीमा वान्ता हुने सम्भावना बढाउँछ।

गाडीमा यात्रा गर्दा केही औषधि लिन सकिन्छ। यात्राअनुसारको औषधि लिनुपर्छ। अदुवाले पनि केही फाइदा गर्छ।


यसले पेटको मुमेन्टलाई सजिलो बनाउँछ। कागती अनि अमिलोजन्य खाना खादा वान्ता रोक्छ भन्ने होइन तर केही हदसम्म रोक्न सक्छ। तर मान्छेअनुसार फरक हुन्छ।

गाडीमा यात्रा गर्नुभन्दा अघि चिल्लो खान खानु हुँदैन। गुलियो खानु हुँदैन। जसले गर्दा वान्ता हुनसक्छ।

गाडीमा बस्ने ठाउँको पनि ख्याल गर्नुपर्छ। वान्ता हुनेहरू झ्यालको आडमा बस्नुपर्छ। कारमा यात्रा गर्दा अगाडिको सिटमा बस्नुपर्छ। भित्र बस्दा किताब पढ्ने, मोबाइल चलाउने गर्नुहुँदैन। यस्तो गरेमा रिंगटा कम हुन्छ। बसको बीचतिर बस्नेलाई धेरै रिंगटा लाग्न सक्छ।

जहाजमा बस्दा पनि झ्यालको आडमा बस्नुपर्छ कानमा कपास राख्नुपर्छ। जहाज जुन दिशामा उड्दैछ त्यतै हेरेर बस्नुपर्छ।

कसै-कसैलाई अरू समयमा नभए पनि कुनै एउटा यात्रामा हुनसक्छ। पहाडी क्षेत्रमा जिकज्याक छ भने वान्ता हुनसक्छ। कहिलेकाही गाडीमा गरेको यात्राका कारणले मात्रै वान्ता हुने भन्ने हुँदैन। त्यस्तो अवस्थामा भने चिकित्सकहाँ जानुपर्छ।

यात्रा गर्दा गर्दै बिचैमा छोड्न मन लाग्छ। सुरूदेखि नै वान्ता हुन्छ। त्यसको लागि सुरूमै औषधि खानुपर्छ। कहिलेकाँही अकुपञ्चरले पनि काम गर्छ।

गाडीमा यात्रा गर्दा किन वान्ता हुन्छ, यसलाई कसरी कम गर्नेलगायतका विषयमा अल्का अस्पताल, जावलाखेल र एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा कार्यररत कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेलको सुझाव ।