कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ।
नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर सुरु हुनुअघिदेखि विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको थियो।
कोभिडको तेस्रो लहरको प्रभाव न्यून भएसँगै नर्भिकले प्रत्येक शनिबारको निःशुल्क ओपीडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो। जसअनुसार शनिबार अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने नर्भिकले जनाएको छ।
शनिबार प्राडा रविन जोशी, डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म सञ्चालन हुने अस्पतालले बताएको छ।
मृगौला, मुत्रनली र मुत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन्।