फागुन ६, २०७८ शुक्रबार

कोभिड-१९ को ओमिक्रोन भेरियन्टको विनाश केही मत्थर भए पनि वैज्ञानिकहरुले यसको एउटा नयाँ भेरियन्टलाई लिएर चेतावनी जारी गरेका छन् । एक अध्ययनअनुसार ओमिक्रोनपछि अब कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन (Deltacron) ले संसारको चिन्ता बढाउन सक्छ ।

के हो डेल्टाक्रोन ?
मिडिया रिपोर्टहरुअनुसार, वैज्ञानिकहरुका अनुसार डेल्टाक्रोन भेरियन्ट ओमिक्रोन भेरियन्टको तुलनामा बढी खतरनाक साबित हुनेछ । अहिले कैंयन् देशले कोरोनाका केश कम भएको भन्दै निषेधहरु फुकुवा गरिरहेका भए पनि अझै सावधानी आवश्यक भएको चिकित्सकहरुको भनाइ छ । बेलायतको एडिनबर्ग युनिभर्सिटीद्वारा गरिएको उक्त अध्ययनमा नयाँ भेरियन्ट डेल्टाक्रोनको लहर कहिले आउँछ भन्नेचाहिँ स्पष्ट पारिएको छैन ।

विश्व स्वास्थ्य संगठनको दाबी
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन मात्र होइन अरु नयाँ(नयाँ भेरियन्ट पनि देखा पर्न सक्छ जुन अघिल्ला भेरियन्टको तुलनामा कम वा बढी फैलने वा क्षति पुर्याउने हुनसक्छ । डब्ल्यूएचओले अमेरिकाबाट पनि एउटा नयाँ भेरियन्ट फेला परेको भन्दै अलर्ट जारी गरेको छ ।

के भन्छन् बेलायती विज्ञहरु ?
ब्रिटेनका विशेषज्ञहरुका अनुसार डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर बनेको यो नयाँ भेरियन्ट डेल्टाक्रोनका केस बेलायतमा बढ्दै गएका छन् । विशेषज्ञहरु भन्छन् यो भेरियन्ट निकै संक्रामक र घातक हुन सक्छ किनभने यसमा डेल्टा र ओमिक्रोन दुवै भेरियन्टका गुण छ ।
दुईवटा भेरियन्ट मिलेर बनेक‍ो हुँदा डेल्टाक्रोनलाई लिएर वैज्ञानिकहरु चिन्तित भएका हुन् । यद्यपि अहिलेसम्म डेल्टाक्रोनले खतराको रुप लिइसकेको छैन र यसका लक्षण, जोखिम आदिका बारेमा पनि प्रशस्त अध्ययन आवश्यक छ ।