फागुन ३, २०७८ मंगलबार

कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्राको अनुसन्धानका लागि गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। ५ सदस्यीय समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई आफ्नो छानबिन प्रतिवेदन बुझाएको हो।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोपको कुनै अभिलेख नपाइएको बताएका थिए। समितिमा उनले यस्तो बताएपछि सरकारले खोप छानबिन समिति गठन गरेको थियो। 

स्वास्थ्यमन्त्री खतिवडाका प्रेस संयोजक शान्तराम बिडारीका अनुसार समितिले आज (सोमबार) प्रतिवेदन बुझाएको हो। स्वास्थ्यमन्त्री खतिवडाले भने कोरोना विरुद्धको कुनै खोप नहराएको गत शुक्रबार दाबी गरेका थिए।

सरकारले डा गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो। सरकारले गठन गरेको छानबिन समितिमा डा. गुणनिधि शर्मा, डा अभियान गौतम, यशोदा अर्याल र अनिल थापा थिए।