माघ २९, २०७८ शनिबार

काठमाडौँ — खोप लगाएको रेकर्ड नै दुरुस्त नहुँदा खोप खपतदेखि वितरण र कोभिड–१९ सम्बन्धित सही तथ्यांकमै समस्या देखिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कार्ड हराएको विषयलाई लिएर दैनिक २०/२५ जना आउने गर्छन् । खोजिदिनुपर्‍यो भनेर फोनसमेत आउने गरेको छ । कार्यालय प्रमुख शम्भु काफ्ले भन्छन्, ‘तर, हामीसँग भएको रजिस्टरमा धेरैको नामै भेटिएको छैन ।’

सर्वसाधारणले लगाएको खोपको विवरण अहिले न जिल्लास्थित स्वास्थ्य कार्यालयले व्यवस्थित राखेका छन्, न त सम्बन्धित अस्पताल र स्थानीय तहले नै । स्वास्थ्य मन्त्रालयले २०७७ माघ ८ मै खोप लगाउनेहरूको सूची विद्युतीय प्रणालीमा तयार गर्नेबारे सूचना जारी गरेको थियो । सुरुमा खोप केन्द्रले कम्प्युटरमा नाम दर्ता पनि गराए । त्यतिबेला अत्यधिक भीडभाड र तीव्र गतिमा खोप लगाउनुपर्ने भएकाले विद्युतीय प्रणालीमा जान नसकेको मन्त्रालयकै उच्च अधिकारीको भनाइ छ । अहिले चाप कम भएका बेला पनि रेकर्ड विद्युतीय प्रणालीमा राख्न चासो देखाइएको छैन ।

यस्तै, सरकारले रेकर्डमा नरहेको २४ लाख डोज खोप खोजी गर्न छानबिन समितिसमेत बनाएको थियो । दुई साता बित्न लागे पनि प्रतिवेदन सार्वजनिक भएको छैन । मन्त्रालयले खोप हराएको विषयमा माघ १६ मा प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको थियो ।