माघ २६, २०७८ बुधबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन् ।

बुधबार नेकपा ९एकीकृत समाजवादी० निकट अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र लिँदै खतिवडाले उक्त कुरा बताएका हुन् । अनेरास्ववियूले विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप चाँडो लगाउन र विपन्नहरूको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

'हामीले ५–११ उमेरसमूहकालाई पनि खोप ल्याउन प्रयत्न गरिरहेका छौँ फाइजर खोप । यसको उपलब्धतामा कमी हुँदैन,' उनले भने, 'बढी भन्दा बढी विद्यार्थीहरु र त्यो उमेरसमूहका नागरिकलाई पनि खोप लगाउनको लागि प्रेरित गर्नुपर्छ ।'

विद्यार्थीहरूलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोपकेन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने खतिवडाको प्रतिबद्धता थियो । 'हामीले पुस ४ गतेबाट सुरु गरिसकेका छौँ । असजिलो नहोस् भनेर विद्यालयलाई नै खोप केन्द्र बनायौँ,' खतिवडाले भने, 'त्यो खोपकेन्द्र हो । वरिपरि भएका सबै सो उमेरसमूहका बालबालिकालाई खोप लगाउनु पर्छ ।'

सरकार कोरोनाविरुद्धको खोप दिन तयार रहेको र विद्यार्थीहरूलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्ने उनले बताए । 'अबको केही दिनभित्रमा नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज लगाउँदैछौँ,’ उनले भने ।

संविधानमा धेरै मौलिक हक लेखिएको उल्लेख गर्दै खतिवडाले त्यो पूरा गर्न सहज नरहेको बताए । ‘संविधानमा हामीले यति धेरै मौलिक अधिकारको कुरा लेखेका छौँ कि, सम्पन्नताको एउटा बिन्दुमा नपुगी सकिने अवस्था छैन । त्यसका बाबजुत पनि हामीले काम गरिरहेका छौँ,' उनले भने ।

विपन्नहरूलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको उनको भनाइ थियो । धेरै मानिसहरू गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा तथा उनीहरूलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको खतिवडाको भनाइ थियो ।

उनले विपन्न नागरिकहरूको ओपीडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताए ।