माघ १७, २०७८ सोमबार

बैतडीमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरु गरिएको छ। गत महिना यहाँका १२ देखि १७ वर्ष उमेर समूहका करिब ३२ हजारलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।

गत महिना मोडर्ना खोपको पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन सुरू गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए। खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहमा आवश्यक खोप पठाइसकिएको उनले बताए।

दोस्रो मात्रा दिन स्थानीय तहहरूले सम्बन्धित विद्यालयहरुसँग समन्वय गरेर खोप अभियान सञ्चालन गरिएको हो। प्रत्येक स्थानीय तहका विद्यालय र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालन गरिएको छ।

बैतडीमा हालसम्म १ लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा लगाएक छन् भने १ लाख ६ हजार २५२ जनाले पूर्ण खोप लगाएका छन्। भारतसँग सीमा जोडिएको बैतडी कोरोनाको जोखिममा रहेको छ। यहाँ संक्रमणका कारण हालसम्म १९ जनाको मृत्यु भइसकेको छ।