माघ १४, २०७८ शुक्रबार

 नेपालमा गत वर्ष आजकै दिन कोरोना भाइरसविरुद्धको खोप अभियान संचालन भयो।

नेपालमा कोरोना भाइरस संक्रमण देखिएको झण्डै एकवर्ष पछि २०७७ माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो।

खोप भने भारतबाट अनुदानमा माघ ८ गते नै आइसकेको थियो। तर खोप लगाउन आवश्यक तयारी गर्नुपर्ने भएकाले सरकारले १४ गतेबाट खोप अभियान सुरु गरेको थियो।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका तत्कालिन निर्देशक डा. सागरराज भण्डारी र कोरोना संक्रमितको उपचारमा खटिएका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पहिलो खोप लगाएका थिए।

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध भएसँगै सरकारले पहिलो चरणमा कोरोना महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स  र शब वाहन चालक, सरसफाईकर्मीलाई लगाउने लक्ष्य लिएको थियो।

पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य सहित देशभर ६६ वटा जिल्लाका करिब १२० खोप केन्द्र तोकेको थियो।

खोप अभियान सुभारम्भ भएको पहिलो दिन ९ हजार ८४ जनाले मात्र खोप लगाएका थिए। 

यस्तै, दोस्रो दिन २८ हजार ७३२ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका थिए।

सरकारले स्वास्थ्यकर्मीलाई नै लक्षित गरि खोप अभियान संचालन गरेपनि त्यतिबेला खोपको विषयमा स्वास्थ्यकर्मीहरु पनि अन्यौलमा थिए।

नयाँ खोप भएकाले स्वास्थ्यकर्मीहरुमा नै खोप लगाउने वा नलगाउने भन्नेमा अन्यौलता देखिएको थियो। त्यसैले सरकारले लक्ष्य लिएअनुसार खोप लगाउनेको संख्या भने खोप अभियानको सुरुवाती अवस्थामा कम देखियो।

त्यसपछि सरकारले पत्रकारहरुका लागि पनि पहिलो चरणको अभियानमा नै खोप लगाउने व्यवस्था गर्‍यो।

यस्तै, दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घ रोग भएका बिरामीहरुका लागि लक्षित गरेर खोप अभियान संचालन गर्‍यो। त्यतिबेला सम्म पनि खोपप्रति मानिसहरुको चासो अझै बढ्न सकेको थिएन।

२०७७ चैत देखि पुनः कोरोना संक्रमण बढ्न थाल्यो । त्यसपछि भने मानिसहरु खोप लगाउन आकर्षित भए। आज नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको एकवर्ष पुरा भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार २०७७ माघ १४ गते देखि २०७८ माघ १३ गते सम्ममा नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिडविद्धको खोप नेपाल भित्रिएको छ। ती मध्ये हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।

सरकारले पहिलो चरणमा खोप लगाएकाहरुलाई माघ २ गतेदेखि अतिरिक्त मात्रा खोप लगाउन पनि सुरु गरिसकेको छ।  बिहीबार सम्ममा २ लाख ८२ हजार ७२४ जनाले खोपको अतिरिक्त मात्रा लगाइसकेका छन्। नेपालमा हालसम्म भेरोसेल, कोभिसिल्डरएस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन, मोडर्ना र फाइजर खोप नेपालीहरुका लागि कोरोना भाइरस विरुद्ध प्रयोग भइरहेको छ।

यी ५ थरिका खोपहरु कतिपय  देशहरुले अनुदानमा उपलब्ध गराएका छन् । यस्तै सरकारले कोभ्याक्स फ्यासिलिटी मार्फत अनुदान र विश्व बैंकको सहयोगमा खरिद सम्झौता गरी ल्याइएको छ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार हाल ७२ लाख ३९ हजार ४३९ डोज खोप केन्द्र र प्रदेशका विभिन्न खोप भण्डारण केन्द्रहरुमा छन्।

नेपालमा कति खोप कहाँबाट कहिले आयो ?
नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत कोभिडविरुद्धको खोप आएको छ। अझै पनि खोपहरु आउने क्रम जारी छ। एक वर्षको अवधिमा नेपालमा विभिन्न पाँचथरीका ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिडविद्धको खोप भित्रिएको छ। जसमध्ये खोप अभियान सुरु भएदेखिको हालसम्मको एक वर्षको अवधिमा ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ।

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– भारत सरकारको अनुदान
डोज–१० लाख
प्राप्त मिति – माघ ८ गते

भ्याक्सिन– कोभिसिल्ड 
स्रोत–  खरिद 
डोज–१० लाख
प्राप्त मिति – फागुन १०

भ्याक्सिन– कोभिसिल्ड
स्रोत–  कोभ्याक्स सुविधा 
डोज–३ लाख ४८ हजार
प्राप्त मिति –फागुन २३

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– भारतिय सेनाले नेपाली सेनालाई अनुदान दिएको
डोज–१ लाख
प्राप्त मिति – चैत १५

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– चीन अनुदान
डोज–८ लाख
प्राप्त मिति – चैत १६

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– चीन अनुदान
डोज–१० लाख
प्राप्त मिति –जेठ १८

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– खरिद
डोज–४० लाख
प्राप्त मिति – जेठ २६ र २९ र असार ८,९,११, १६

भ्याक्सिन– जोनसोन एण्ड जोनसोन
स्रोत– कोभ्याक्स मार्फत अमेरिकाले अनुदानमा दिएको
डोज– १५ लाख ३४ हजार ८५०
प्राप्त मिति –असार  २८

भ्याक्सिन– एस्ट्राजेनेका 
स्रोत– भुटान सरकारको अनुदान
डोज–२ लाख ३० हजार 
प्राप्त मिति –साउन  २३

भ्याक्सिन– एस्ट्राजेनेका 
स्रोत– कोभ्याक्स मार्फत जापान सरकारको अनुदान
डोज– १६ लाख १४ हजार ७४० लाख
प्राप्त मिति – साउन २३ र २४, भदौ ५ र ७

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– खरिद
डोज–१६ लाख
प्राप्त मिति – भदौ २ र ३

भ्याक्सिन– एस्ट्राजेनेका 
स्रोत– बेलायत सरकारको अनुदान
डोज–१ लाख ३१ हजार १२०
प्राप्त मिति –भदौ १०

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– खरिद
डोज–४४ लाख
प्राप्त मिति –असोज १

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– चीनको रेडक्रसले नेपालको रेडक्रसलाई अनुदान दिएको
डोज–१ लाख
प्राप्त मिति –असोज ८

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– खरिद
डोज– १० लाख
प्राप्त मिति –असोज २३

भ्याक्सिन– फाइजर
स्रोत– कोभ्याक्स अनुदान
डोज–१ लाख ६२०
प्राप्त मिति –कात्तिक ८

भ्याक्सिन– भेरोसेल
स्रोत– कोभ्याक्स मार्फत लागत साझेदारी
डोज–१० लाख २० हजार
प्राप्त मिति –कार्तिक १०

भ्याक्सिन– एस्ट्राजेनेका 
स्रोत– माल्भदिभ्स सरकारको अनुदान
डोज–२ लाख १ हजार ६००
प्राप्त मिति – कात्तिक १४

भ्याक्सिन– भेरोसेल
स्रोत– पिचार सी ग्रान्ड
डोज–१६ लाख
प्राप्त मिति – कात्तिक १७

भ्याक्सिन– भेरोसेल
स्रोत– पिएलए टु नेपाल आर्मी ग्रान्ड
डोज–३ लाख
प्राप्त मिति – कात्तिक १९

भ्याक्सिन– एस्ट्राजेनेका
स्रोत– कोभ्याक्स सुविधा 
डोज–३ लाख४८
प्राप्त मिति – कात्तिक २४

भ्याक्सिन– एस्ट्राजेनेका
स्रोत–  कोभ्याक्स मार्फत स्वीस सरकारको अनुदान
डोज–१ लाख ४४
प्राप्त मिति – कात्तिक २४

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–१० लाख ५८ हजार ८९२
प्राप्त मिति – कात्तिर्क २५

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत–  कोभ्याक्स लागत साझेदारी
डोज–४ लाख ११ हजार ७६८
प्राप्त मिति –कात्तिक २९

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–१० लाख ५८ हजार ९४०
प्राप्त मिति – कात्तिक २९

भ्याक्सिन– एस्ट्राजेनेका 
स्रोत– क्यानडाबाट प्राप्त
डोज ३ लाख ६८ हजार १००
प्राप्त मिति–कात्तिक ३०

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– कोभ्याक्स सुविधा
डोज–७ लाख २५ हजार ५००
प्राप्त मिति– मंसिर १३

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– कोभ्याक्स सुविधा
डोज–९ लाख ७२ हजार 
प्राप्त मिति– मंसिर १५

भ्याक्सिन– मोडर्ना
स्रोत– कोभ्याक्स एएमसी
डोज–१ लाख ८८ हजार ४००
प्राप्त मिति–मंसिर १७

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– कोभ्याक्स एएमसी
डोज–६ लाख
प्राप्त मिति– मंसिर २२

भ्याक्सिन– मोडर्ना
स्रोत– कोभ्याक्स एएमसी
डोज–१४ लाख ९७ हजार २००
प्राप्त मिति– मंसिर २३

भ्याक्सिन– मोडर्ना
स्रोत– कोभ्याक्स  जर्मन सहयोग
डोज–१९ लाख ६५ हजार ६००
प्राप्त मिति– मंसिर २६

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– कोभ्याक्स एएमसी
डोज–१८ लाख ७१ हजार 
प्राप्त मिति– मंसिर २

भ्याक्सिन– जोनसोन एण्ड जोनसोन
स्रोत– कोभ्याक्स जर्मनी सहयोग
डोज–२१ लाख ७६ हजार ६५०
प्राप्त मिति– पुस १

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–१२ लाख १ हजार ८८७
प्राप्त मिति–पुस ५

भ्याक्सिन– कोभिसिल्ड
स्रोत– कोभ्याक्स एएमसी
डोज–१८ लाख ७० हजार ५००
प्राप्त मिति– पुस ५

भ्याक्सिन– फाइजर
स्रोत– कोभ्याक्स मार्फत अमेरिका सहयोग
डोज– ६लाख ६४ हजार ५६०
प्राप्त मिति– पुस ९

भ्याक्सिन– सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–११ लाख ८४ हजार ९१३
प्राप्त मिति– पुस २७

भ्याक्सिन– मोडर्ना
स्रोत– कोभ्याक्स लागत साझोदारी (विश्व बैंक मार्फत)
डोज–१६ लाख ६० हजार ८००
प्राप्त मिति– माघ ११

सुरुमा खोप ल्याउन सहज थिएन, अहिले अनुदानमै उपलब्ध छः डा मरासिनी

व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार सुरुमा सरकारले खरिद नै गर्न चाहेपनि विश्व बजारमा खोप पाउन सहज थिएन।

कोरोना भाइरस नयाँ रोग भएकाले पनि खोपको उत्पादन नै सिमित र नयाँ थियो। जसले गर्दा खोप सहज रुपमा पाउने अवस्था नै थिएन।

‘गतवर्ष स्वास्थ्यकर्मीलाई खोप दिन सुरु गर्दा त हामीसँग धेरै खोप नै थिएन,’ डा मरासिनीले भने, ‘भारतको सेरम इन्टिच्युटसँग खरिद सम्झौता भएर पेमेन्ट गरिसक्दा पनि खोप उपलब्ध भएको थिएन।’

तर अहिले खोप आयातमा कुनै समस्या नभएको डा मरासिनी बताउँछन्। उनी भन्छन्,‘अहिले खरिद गर्न चाहने हो भने कुनै समस्या नै छैन। विश्वबजारमा खोप सहजै पाइन्छ।’

नेपालमा कोभ्याक्स फ्यासिलीटी मार्फत अनुदानमा खोप प्राप्त भइरहेकाले हाल खोप खरिद गनुपर्ने अवस्था नरहको डा मरासिनीले बताए।

‘पहिला खोप सहज रुपमा नपाउँदा मोर्डना, भेरोसेल, कोभिसिल्ड लगायतका खोपहरु किनियो,’ उनले भने, ‘तर अहिले त भ्याक्सिनहरु डोनेसनमै प्रशस्त पाइरहेका छौं। किन्नु पर्ने अवस्था नै छैन।’

तर ५ देखि ११ वर्ष उमेर समूहका लागि लगाउने फाइजर खोप भने विश्व बजारमै कम भएकाले खरिद नै गनुपर्ने अवस्था रहेको उनले बताए।

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी  खोप खरिद गर्ने प्रक्रिया अघि बढीसकेको डा. मरासिनीको भनाइ छ।