नेपालमार्ग, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाकामा रहेको पिपलाडी स्वास्थ्य चौकीका एम्वुलेन्स चालक गौरे लुहारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार पिपलाडी स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गराउँदा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
केही दिनअघिदेखि हातखुट्टा दुख्ने, टाउको दुख्नेलगायत समस्या भएका उनले हिजो एन्टिजेन परिक्षण गराउँदा कोरोना सङ्क्रमण भएको हो । अहिले आफू होम आइसोलेशनमा बसको र स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी दिएका छन् । "मलाई केही दिनअघिदेखि नै सन्चो थिएन, हातखुट्टा दुख्ने, पुरै शरीर नै दुख्ने गरेको थियो । पछि कोराना जाँच गर्दा रिपोर्ट पोजेटिभ आयो ।" उनले भनेका छन् । अहोरात्र कोभिडका बिरामीको सेवामा तल्लिन रहेका एम्वुलेन्स चालक लुहार आफैँलाई अहिले सङ्क्रमण पुष्टि भएको छ । साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन आग्रहसमेत गरेका छन् ।