चैत २९, २०८२ आइतबार

दमक (झापा), २९ चैतः साहित्यकार ओमप्रसाद खनालको ‘मनको फित्कौली’ नामक मुक्तक सङ्ग्रह लोकार्पण गरिएको छ । साहित्य कला सङ्गम दमकको आयोजनामा आज यहाँ एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । 

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार डा गोपाल प्रसाद भण्डारी, साहित्य कला सङ्गमका पूर्वअध्यक्ष नरपति पाण्डे, पूर्वमहासचिव दीपक सुवेदी, मिक्लाजुङ साहित्य समाज मोरङका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, भारत आसामका सहित्यिकार रामप्रसाद दाहाल र अनुप शर्मा, शैक्षिक व्यक्तित्वहरू लिलानाथ खनाल र शेषकुमार निरौलालगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो । 

कार्यक्रममा साहित्यकार शिशिर भट्टराईले सङ्ग्रहबारे समीक्षात्मक टिप्पणी गर्नुभयो । यसअघि कृतिकार खनालका ‘हरिहर भजनमाला’ भजन सङ्ग्रह, ‘निलो आकाश’ कविता सङ्ग्रह प्रकाशित छन् ।