पाटन (ललितपुर), २८ चैतः सरोकार भएकाहरूले स्थानीय तहले अधिकारसँगै स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारीप्रति थप जवाफदेही हुनुपर्नेमा जोड दिएका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले आज यहाँ आयोजना गरेको ‘आयुर्वेद सेवा तथा कार्यक्रमको जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ मा उहाँहरूले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट डा पुष्पराज पौडेलले नागरिक आरोग्य सेवा सेवा प्रदान गर्ने दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न स्थानीय तह र सेवामा खटिएका कर्मचारीहरू थप जिम्मेवार हुनुपर्ने बताउनुभयो । “आधारभूत तहको स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहको हो, आफूलाई सहज हुनेगरी भन्दा सेवाग्राहीलाई सहयोग पुग्ने गरी सेवा दिनुपर्छ । यसका साथै, सरकारी तलब खाने हरेक कर्मचारीले पनि जिम्मेवार र जवाफदेही भएर काम गर्नु अपरिहार्य छ”, उहाँले भन्नुभयो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा अमूल्य दाहालले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट सहज र प्रभावकारी सेवा प्रवाह हुने गरी योजना बनाउन आग्रह गर्नुभयो ।
चिकित्सालयका प्रमुख आयुर्वेद कन्सल्टेन्ट डा पुनम नेपालले पछिल्लो समय आयुर्वेद उपचार पद्धतिबारे आम चासो बढ्दै गएकाले जनमानसमा थप सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा चिकित्सालयले प्रदान गर्ने विविधि सेवाबारे जानकारी गराइएको थियो ।