चैत २७, २०८२ शुक्रबार

वीरगन्ज (पर्सा), २७ चैतः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशलाई हराउँदै बागमती प्रदेश विजयी भएको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको खेलमा बागमतीले मधेस प्रदेशलाई ३५ रनले हराएको हो ।

    सुरुआती ब्याटिङ गरेको बागमतीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय आठ रन जोडेको थियो । बागमतीका उत्तम मगरले ७५ बल खेल्दै ४४ रन जोडेका थिए भने सन्दीप लामिछानेले पनि ३४ बलमा ३६ रन जोडेका थिए । 

    मधेस प्रदेशका पवन सर्राफले तीन विकेट र रञ्जित कुमारले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको मधेसले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ७३ रनमा समेटिएको थियो । मधेसका मयन यादवले ५० बलमा ४० रन जोडेका थिए भने मोहम्मद आदिल आलमले २० बलमा २७ रन जोडेका थिए । 

    बागमतीका प्रतिश जिसीले पाँच विकेट र रिजन ढकालले समान दुई विकेट लिएका थिए । बागमतीका जिसी आजको खेलमा प्लेयर अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।