राँझा (बाँके), २५ चैत ः नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित सञ्जीवनी अस्पतालमा मङ्गलवारदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ ।
मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक सन्तोषकुमार खनालले बताउनुभयो । यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोमन किदवाईले जानकारी दिनुभयो । जोखिमयुक्त गर्भावस्थाको निःशुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा सरकारी भेरी अस्पतालले त्यसको भार खेप्दै आएको थियो ।
सङ्घीय सरकारले एक वर्षअघि अनुदान रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको थियो । भेरीमा अत्यधिक चाप बढेपछि सरकारले फेरि नेपालगञ्ज उपमहानगरपालिकामार्फत सञ्जीवनीलाई अनुदान दिएको हो । अब सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ पुग्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताउनुभयो । नगरप्रमुख विष्टले आमा सुरक्षा कार्यक्रम सुरु भएपछि बाँकेमा मातृ शिशु मृत्युदरमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।