चैत २४, २०८२ मंगलबार

भोजपुर, २४ चैतः भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको छ ।  गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । भवन सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार २०८४ साल असोज २० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित रु पाँच करोड ७१ लाखमा ठेक्का सम्झौता गरिएको छ । 

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो प्रयासपछि प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । व्यवस्थित भवन अभावका कारण गाउँपालिकाले कच्ची संरचना तथा भाडाका घरबाट सेवा सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । 

“हाल भवन अभावकै कारण सेवा व्यवस्थापनमा विभिन्न चुनौतीहरू छन्”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माणपछि सबै सेवा एउटै स्थानबाट सहज रूपमा उपलब्ध गराउन सकिनेछ । यसले नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ ।” उहाँले भवन निर्माणका लागि निःशुल्क तथा सहुलियत दरमा जग्गा उपलब्ध गराउने स्थानीयवासीप्रति आभार व्यक्त गर्दै उहाँहरुको सहयोगले विकास निर्माणमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले भवन अभावका कारण स्थानीय सरकारले सेवा प्रवाहमा भोग्दै आएको समस्या अन्त्य गर्न प्रशासनिक भवन निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भवन निर्माणपश्चात् प्रशासनिक सेवा मात्र नभई न्यायिक समितिमार्फत हुने सेवा प्रवाहमासमेत सहजता हुने उहाँको भनाइ छ । उहाँले भवनलाई गुणस्तरीयढङ्गले समयमै सम्पन्न गराउन आवश्यक समन्वय र सहजीकरण गरिने बताउनुभयो ।

निर्माण व्यवसायी तेज श्रेष्ठले कुनै अवरोध नआए तोकिएको समयसीमाभित्रै भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्माण प्राविधिक मापदण्डअनुसार अघि बढाइने र गुणस्तरमा कुनै सम्झौता नगरिने उहाँको भनाइ छ ।

भवन निर्माणले सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र पारदर्शी बनाउने भूमिका खेल्ने स्थानीयवासी रविचन्द्र राईले बताउनुभयो । हाल भवन नहुँदा सेवा लिन समस्या रहेको उहाँको भनाइ छ ।