चैत २३, २०८२ सोमबार

काठमाडौँ, २३ चैत : कान्तिपुर हाफ म्याराथनको १४औँ संस्करण आगामी वैशाख ५ गते हुने भएको छ ।

    कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गर्ने कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ ।

    कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही एक लाख ५० हजार रुपैयाँ पाउने छन् । दोस्रोदेखि छैटौँ हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपैयाँ पाउने छन् । पहिलो तीन स्थानमा आउनेले ट्रफी र मेडल पाउने छन् । ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार रुपैयाँ तथा दोस्रो र तेस्रो हुनेले क्रमशः  २५ र १५ हजार रुपैयाँ पाउने छन् ।

    कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । यसपटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउने छन् । एक्स्ट्रिम कलेज रन विजेताले आइपिएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुई तर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट प्रदान गरिने एक्स्ट्रिम इनर्जी ड्रिक्सका विजनेस हेड सोनिया राणाले बताउनुभयो ।

    कान्तिपुरको कार्यालय रहेको तिनकुने अगाडिबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुदैं जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुदैं तीनकुनेमा आएर दौड टुंगिने आयोजकले जनाएको छ ।

    कर्पोरेट एन्ड इन्फुलेएन्सर दौड तिनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हँुदै तिनकुने आएर टुङ्गिने छ । तिनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर फर्केर तिनकुने मै आएर टुङ्गिने छ ।

    कलेज रन कोटेश्वर हुँदै तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्की कोटेश्वर हँुदै तिनकुने आएर टुङ्गिने छ ।