चैत २३, २०८२ सोमबार

मध्यविन्दु (नवलपरासी), २३ चैतः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा एक पुरुष आज मृत भेटिएका छन् । उहाँकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको छ ।

    स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित मृतावस्थामा फेला पर्नुभएको हो । उहाँकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

    उहाँका अनुसार घाइते गुलबासेनियालाई उपचारका लागि चितवन लगिएको छ । घरमा दम्पती मात्र बस्दै आएका र छोराबुहारी छुट्टै घरमा बस्दै आएको खुलेको छ । घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।