चैत २३, २०८२ सोमबार

जुम्ला, २३ चैतः जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।

‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिनुभयो ।

गाउँमै दन्त शिविर सञ्चालन भएपछि स्थानीयवासिको दाँत परीक्षण तथा दाँत सफा गर्ने, औषधि वितरण तथा दाँत सम्बन्धी परामर्शसमेत गरिएको थियो । विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीयलाई दाँतको हेरचाह, नियमित ब्रस गर्ने तरिका, खानपानमा ध्यान दिनुपर्ने विषय तथा दाँतसम्बन्धी रोगबाट बच्ने उपायबारे जानकारी गराएको वडाध्यक्ष रोकायाको भनाइ छ ।

यसैगरी तातोपानी गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा १९२ जनाको आँखा जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा  तातोपानी स्वास्थ्यचौकीमा आइतबार सञ्चालन भएको निःशुल्क आँखा तथा मोतियाविन्दु शिविरमा ६२ पुरुष र १३० महिलाले सेवा लिएका शाखा प्रमुख चौलागाईले बताउनुभयो ।