काठमाडौँ, २३ चैतः सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले सकारात्मक परिवर्तनका लागि सरकारलाई समर्थन गर्ने जनाएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले संविधानले अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जनताले अपेक्षित परिणाम नपाएको बताउनुभयो । उहाँले नीतिगत ढिलासुस्ती तथा भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको उल्लेख गर्दै वैदेशिक रोजगारी बाध्यता बन्दै गएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित हुन नसकेको बताउनुभयो ।
सांसद कर्णले भन्नुभयो, “कांग्रेससँग अनुभव, ऊर्जा र नवप्रवर्तनको सोच छ र नयाँ सरकारसँग पनि ऊर्जा र नवप्रवर्तनको इच्छाशक्ति छ । यी दुईको संयोजनले देशलाई सही दिशा दिन सक्नेमा विश्वस्त छु ।”
उहाँले सकारात्मक परिवर्तनका लागि कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्दै देश र लोकतन्त्रको हितमा हुने हरेक कदममा साथ दिने तथा जनहितविपरीत हुने कार्यको प्रतिवाद गर्ने बताउनुभयो ।