बागमती, १९ चैतः मकवानपुरको मनहरी गाउँपालिकास्थित क्षेत्रबाट तीन बालश्रमिकको उद्धार गरिएको छ ।
श्रम तथा रोजगार कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र नेपाल प्रहरीको संयुक्त टोलीले आज मनहरी बजार क्षेत्रका होटलमा गरेको अनुगमनका क्रममा फेला परेका तीन बालश्रमिकको उद्धार गरेको हो ।
मनहरी बजार क्षेत्रका आठ वटा होटल अनुगमन गर्दा जीवन होटलबाट ११ वर्षीय बालिका, गुरुङ कोल्डस्टोरबाट १५ वर्षीय बालक र सुहिम होटलबाट १३ वर्षीय बालकको उद्धार गरिएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख रुद्रनारायण साहले जानकारी दिनुभयो ।
गुरुङ कोल्डस्टोरबाट उद्धार गरिएका १५ वर्षीय कक्षा ६ मा अध्ययनरत रहेको र आमाको जिम्मा लगाइएको र सुहिम होटलबाट उद्धार गरिएका १३ वर्षीय बालकलाई परिवारजनको जिम्मा लगाइने प्रक्रिया अघि बढेको प्रमुख साहले बताउनुभयो ।
यसैगरी, जीवन होटलबाट उद्धार गरिएका ११ वर्षीया बालिकालाई उद्धार गरी संरक्षणका लागि ‘बाल हेल्पलाइन’मा पठाइएको र होटल सञ्चालकविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।