चैत १९, २०८२ बिहिबार

टक्सार (भोजपुर), १९ चैतः भोजपरको हतुवागढी गाउँपालिकामा घुम्ती सेवा सुरु गरिएको छ । हतुवागढीको केन्द्र घोडेटारमा नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आजदेखि सो सेवा आरम्भ गरिएको हो । 

    दुर्गम क्षेत्रबाट प्रशासनीक सेवा लिनका लागि सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले घुम्ती सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । हतुवागढी र आमचोक गाउँपालिकामा तीन–तीन दिन उक्त सेवा सञ्चालन गरिने छ । 

    “नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै घुम्ती सेवा सुरु गरेका हौँ,” प्रजिअ पौडेलले भन्नुभयो । हतुवागढीमा यही चैत १९ देखि २१ गतेसम्म र आमचोकमा चैत २२ देखि २४ गतेसम्म सो सेवा प्रदान गरिने छ । यसबाट हतुवागढीका नौ तथा आमचोकका १० वडाका बासिन्दाले घरआँगनमै सेवा पाउने छन् ।