कञ्चनपुर, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा जारी प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो मतपरिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहराले फराकिलो मतान्तरसहित अग्रता कायम कायम गर्नु भएको छ ।
निर्वाचन अधिकृत प्रकासबहादुर भण्डारीका अनुसार मतगणनामा बोहराले १५ हजार ५७९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले चार हजार ७०७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार बचनबहादुर सिंहले तीन हजार ४६९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले दुई हजार ९५३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार तीर्थराज चटौतले ८३६ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ ले उपलब्ध गराएको जानकारीअनुसार हालसम्म ३० हजार २११ मत गणना गरिएको छ । तीमध्ये २८ हजार २६० मत सदर भएका छन् भने एक हजार ९५१ मत बदर भएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता सङख्या एक लाख नौ हजार ५७४ रहेको छ । तीमध्ये ६४ हजार ८८१ मत खसेको थियो, जुन कुल मतदाताको ५९ दशमलव २१ प्रतिशत हो । सो निर्वाचन क्षेत्रमा चार स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन ।